शैक्षिक सत्र असार १ बाट,बैकल्पिक बिधिबाट पठनपाठन गरिने



काठमाडौं,२० जेठ ।कोरोनाभाइरस र ‘लकडाउन’का कारण दुई महिना रोकिएको शैक्षिक क्षेत्र असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि वैकल्पिक विधिबाट पठन–पाठन सुरु गराउन आह्वान गरेको छ ।

जसमा विद्यार्थीले अनलाइन, टीभी, रेडियोको माध्यमबाट पढ्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।

उक्त निर्देशिकाले दुई महिना रोकिएको शैक्षिकसत्र सुरु गराउन दूर तथा खुला शिक्षा र वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गरिने जनाइएको छ । मन्त्रालयले निर्देशिका असार १ गतेबाट लागू गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकाय तथा सरोकारवालालाई आग्रहसमेत गरेको छ ।

वैकल्पिक प्रणाली भनेको कक्षाकोठामै पठन–पाठन सुरु गर्ने भन्ने होइन । विद्यार्थीले घरमा नै बसेर अनलाइन, टेलिभिजन र रेडियोको माध्यमबाट पढ्ने व्यवस्था हो । तर, त्यो सबै क्षेत्रका विद्यार्थीको हकमा भने सम्भव छैन । धेरै स्थानका बालबालिका रेडियो र टीभीको पहुँचबाट पनि बाहिर नै छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बालबालिकाको तह छुट्याएर अध्यापन गराउने तयारी भएको बताए । सबै क्षेत्रको पहुँचबाहिर रहेका विद्यार्थीहरुलाई ती स्थानका शिक्षकहरु परिचालन गरेर लकडाउनको मापदन्डअनुसार निरीक्षण गरिने शर्माको भनाइ छ ।

पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुर्‍याउने मन्त्रालयले जनाएको छ । प्रवक्ता शर्माले अत्यावश्यक सामग्री ढुवानीजसरी नै पाठ्यपुस्तक ढुवानी हुने बताए । सिकाइ सहजीकरण गर्न प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने तयारी गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

मन्त्रालयको निर्णयलाई निजी विद्यालयहरुको संगठन ‘प्याब्सन’ले पनि समर्थन गरेको छ । हाल कतिपय विद्यालयले अनलाइनबाट पढाउन सुरु गरिसकेको भन्दै प्याब्सनका अध्यक्ष टिकाराम पुरीले वैकल्पिक विधिबाट पढाउन सबै शिक्षकलाई तयारीमा राख्ने बताए ।

प्याब्सनअन्तर्गत्का विद्यालयमा ‘भर्चुअल’ कक्षा टेलिभिजन वा रेडियोबाट पढाउने बताए । केही निजी विद्यायले लकडाउन सुरु भएदेखि नै अनलाइन कक्षा सञ्चालन गरिरहेपनि वैशाखदेखिको शुल्क लिने वा नलिने भन्ने विषयमा भने कुनै निर्णय नभएको अध्यक्ष पुरीले बताए ।

मन्त्रालयले लकडाउनका कारण रोकिएको एसइई र कक्षा–११ र १२ को परीक्षा सञ्चालन गराउनेबारे गृहकार्यमा लागेको जनाएको छ । त्यसैगरी, उच्चशिक्षाको पठन–पाठन सुरु गराउने विषयमा भने कार्यदल बनाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्