सांसद कमला रोकाद्धारा चौथो चरणको राहत वितरण



काठमाडौं १० जेठ । रुकुम पूर्वबाट निर्वाचित नेकपाकी प्रतिनिधिसभाकी सांसद कमला रोकाले चौथो चरणको राहत वितरण गरेकी छिन् । सांसद रोकाले आज काठमाडौंको सितापाइला, वाफल वरपर बस्ने ३३ परिवारलाई राहत स्वरुप चामल उपलव्ध गराएकी हुन् ।

उनले बाफलका ताराबहादुर कुँवरको सहकार्यमा जिल्लाका ३३ परिवारलाई चामल प्रदान गरेकी हुन् । समाजसेवी तथा व्यवसायी कुँवरले लकडाउनका कारण दैनिकी समस्यामा परेका नागरिकलाई राहत स्वरुप चामल, दाल, नुन, चिनी, तेल वितरण गर्दै आएका छन् । पूर्वमन्त्री तथा नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी सांसद रोकाले आगामी दिनमा पनि सहयोग गरिरहने बताइन् । दैनिक ज्यालादारी गरेर कमाई खाने मजदुर, काठमाडौमा आएर पढ्ने विद्यार्थीका साथै अन्यलाई उनले त्यही ठाउँमा पुगेर राहत दिएकी हुन् । उनले प्रतक्ष्य रुपमा टेलिफोन गरेर आफ्नो समस्या भन्नेका साथै सामाजिक सञ्जालमा आफुलाई अप्ठेरो परेको छ भनेर जानकारी गराउनेको गुनासो र पीरमर्का बुझ्दै आएको बताइन् ।

उनले अझैपनि झण्डै ३ सय जतिलाई समस्या परेको आफूले थाहा पाएको बताइन् । सकेसम्म पहल गरेर छिटै राहत उपलव्ध गराउने उनले प्रतिवद्धता जनाएकी छिन् । उनले यसअघि रानीवनका केही परिवार, गोलढुंगाका ५१ र कीर्तिपुरका ६० परिवारलाई राहत वितरण गरेको बताइन् । उनी बस्ने बनस्थली वरपर उनी निर्वाचित जिल्लाका धेरै मानिसहरु बस्ने गरेका छन् । सहयोग गर्नु आफ्नो जिम्मेवारी भएकाले राहतबारे चर्चा गर्नुभन्दा पनि कर्तव्य निर्वाह गरेको उनको भनाई छ । उनले विभिन्न व्यक्ति र संघसंस्थाले गरेको सहयोगको खुलेरै प्रशंसा गरेकी छिन् । एकलाई अप्ठेरो परेको बेलामा मानवीयताको नाताले अरुले सहयोग गर्नु उदाहरणीय भएको उल्लेख गरेकी छिन् ।

लकडाउनकै बेला आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व पुगेकी उनले जिल्लामा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री समेत उपलव्ध गराएकी थिइन् । उनले अहिले जिल्ला र काठमाडौबीच आवश्यक समन्वय गरिरहेको जनाएकी छिन् । उनले यो असहज अवस्थामा नागरिकलाई सुरक्षित भएर आफू पनि बच्न र अरुलाई पनि बचाउन समेत सबै नागरिकलाई आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्