धुलिखेल अस्पतालमा कोरोना संक्रममित महिलाको मृत्यु !
काठमाडौं, ३ जेठ । धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ।
सिन्धुपाल्चोकको बाह्रबीसेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाल टेकुमा स्वाब पठाइएको छ। विज्ञहरुले एउटा ल्याबमा पोजेटिभ आएको अवस्थामा अर्को ल्याबमा नेगेटिभ आउन सक्ने बताएका छन्।
कोरोना भाइरस ९कोभिड–१९० सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको मृत्यु भएपछि अहिले धुलिखेल अस्पताललाई सिल गरिएको छ। स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य ल्याबको रिपोर्ट कुरिरहे पनि महिलाको उपचारमा संलग्न अस्पतालका तीन स्वास्थ्यकर्मीहरुलाइ आइसोलेसनमा राखिएको छ।
यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण कमाण्ड पोस्टको बैठक पनि अहिले धुलिखेलमा बसिरहेको छ। उक्त बैठकमा धुलिखेल बजार नै सिल गर्नेबारेमा चर्चा भइरहेको एक अधिकारीले जानकारी दिएका छन्। उता महिलालाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनको प्रारम्भिक उपचार गरेको सिन्धुपाल्चोक जिल्लास्थित बारबिसे प्राथमिक स्वास्थ्य चौकी राम्चे सिल गरिएको जनाइएको छ।सिंगो राम्छे क्षेत्रलाई सिल गर्ने तयारी भैरहेको नगरपालिकाले जनाएको छ।
संक्रमितको संख्या २७८ पुग्यो
नेपालमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ सय ७८ पुगेको छ । यसअघि शनिबार नै अन्य ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो।