६ बर्षीय बालिकाका कारण टिचिङमा तनाव, सम्पर्कमा गएका स्वास्थ्यकर्मीहरु सेल्फआइसोलेसनमा
काठमाडौं, १ जेठ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना संक्रमण परीक्षण गरिएको छ ।
अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीको पनि कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलन गरिएको हो ।
वैशाख ३० गते भर्ना भएकी नाक कान घाँटीकी विरामी ६ वर्षीया बालिकाको शल्यक्रियापूर्व कोरोना भाइरसको परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
नाकमा मासु पलाएकी बालिकालाई दुई दिनअघि कपिलवस्तुबाट शल्यक्रियालाई अस्पताल ल्याइए पनि अहिले शल्यक्रिया रोकिएको जनाइएको छ ।
कुनै लक्षण नदेखिएकी उनलाई परीक्षणपछि संक्रमण पुष्टि भएकाले हाल अस्पतालकै गणेशमान भवनमा सारेर आइसोलेसन क्याविनमा उपचार थालिएको छ ।
बालिकाको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बसेर बाँकीलाई नियमित काममा गर्न शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाले आग्रह गरेका छन् ।
अस्पतालले हाल आकस्मिकबाहेकका शल्यक्रिया नगर्न र गर्दा पनि पीपीई लगाएर मात्र गर्न आग्रह गरेको छ ।