वडाध्यक्षले बाँडे कुहिएको चामल, स्थानीयले उनकै घरमा फर्काए
मुगु २२ बैशाख । मुगुको सोरु गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अकवर शाहीले राहत भन्दै बाँडेको कुहिएको चामल स्थानीयले उनकै घरमा फर्काइदिएका छन्।
कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउनका बेला दैनिक ज्यालामजदुरी गर्नेहरूलाई परेको समस्या टार्न भन्दै सोरु गाउँपालिकाले राहत वितरण गरेको थियो। तर राहतमा बाँडेको चामल कुहिएर किरा परेको भेटिएपछि स्थानीयले सो राहत वडाध्यक्ष शाहीकै घरमा फर्काइदिएका हुन्।
सो वडाले २३४ घर परिवार, दुईजना स्वास्थ्यकर्मी, दुई बोरा तीर्थसैन गौचनमा, तीन जना पूर्ण अपाङ्ग र ५८ जना जेष्ठ नागरिकलाई गरि नेपाल खाद्यान्न संस्थानबाट खरिद गरिएको भनिएका ३० केजीका २५० बोरा चामल वितरण गरेको थियो।
वितरण गरिएकामध्ये १० बोरा चामल शाहीले नै फिर्ता पाएका छन्। गुजारा टार्नै सकस भोगिरहेका केही स्थानीयले भने सोही कुहिएको चामल पकाएर खाइरहेका छन्। तर भात निकै अमिलो स्वादको भएको स्थानीयले बताएका छन्।