कस्तुरी मारेको अभियोगमा पाँच जना हिरासतमा
सोलुखुम्बु, २० बैशाख ।सगरमाथा पराष्ट्रिय निकुञ्जभित्र कस्तुरी मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
९ जना पक्राउ परे पनि ४ जनालाई सोधपुछ पछि छोडिएको र बाँकी ५ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालले बताए ।
सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले प्रहरी, स्थानीय बासिन्दा तथा मध्वर्ती क्षेत्र उपभोक्ता समितिको सहयोगमा उनीहरु पक्राउ परेको बताए ।
खुम्बिला मध्वर्ती क्षेत्र उपभोक्ता समितिका उपाध्यक्ष पेमा छोसाङ शेर्पाका अनुसार जिल्लाको पोंचेबाट ४ जनालाई आज र अन्य चार जनालाई पाङबोचेबाट पक्राउ गरिएको हो । अर्को एक जनालाई यसअघि नै स्थानीयले पक्राउ गरेका थिए । पक्राउ गरिएका सवैलाई इलाका प्रहरी कार्यालय नाम्चेमा बुझाइएको उनले बताए ।
१५ वैशाखमा सोलुखुम्वु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ को क्यान्जुवा जंगल क्षेत्रमा मृत अवस्थामा ६ वटा कस्तुरी मृग भेटिएका थिए । कस्तुरी संरक्षित स्तनधारी जीवमा पर्दछ ।
पोंचेबाट पक्राउ परेका मध्ये विष्णु राई र रमेश राई वन्यजन्तुको व्यापारमा संलग्न रहेको आफूले जानकारी पाएको प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए ।
विष्णु राईले कस्तुरीको बीना रु। ५० हजारमा किनेर ७० हजारमा विक्रि गरेको वयान मध्वर्ती क्षेत्र उपभोक्ता समितिका उपाध्यक्ष पेमा छोसाङ शेर्पाले बताए