अझै तीन दिनसम्म चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना



 

काठमाण्डौ ८ बैशाख । केही दिनयता प्रिमनसुनी गतिविधि सक्रिय भएको छ । बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्नु प्रिमनसुनको विशेषता हो ।

प्रिमनसुनमा स्थानीयसँगै पश्चिमी वायु सक्रिय हुन्छ । केही दिनयता प्रिमनसुनी गतिविधि बढेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्न थालेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार अझै तीन दिन प्रिमनसुनी गतिविधि सक्रिय नै रहने देखिएको छ । यसकै प्रभावले अबको तीन दिन देशका केही ठाउँमा मेघगर्जन हुरीबतास र असिनासहित पानी पर्ने उहाँले बताउनुभयो । यस्तै प्रिमनसुनमा नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने उहाँको भनाइ छ ।

सोमबार देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ दिउँसोपछि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका धेरै ठाउँमा चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्