कांग्रेस नेता शाही एक्लैले बाँडे ७ हजार मास्क



गंगा बराल

काठमाडौ २७ चैत्र ।  नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले जिल्लामा ७ हजारभन्दा बढी मास्क वितरण गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तह पुगेर उनले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा खाद्यान्न सामग्री वितरण गरेका हुन् ।


उनले आज पातालखोला र कालिकाखेतु स्वास्थ्य चौकीलाई सेनिटाइजर, सर्जिकल मास्क, डिजिटल थर्मोमिटर र ग्लोव्स उपलव्ध गराएका छन् । त्यस्तै बड्की स्वास्थ्य चौकी र प्रहरी चौकीलाई पनि आवश्यक सामग्री दिएका हुन् । स्वास्थ्य चौकी र प्रहरी चौकीमा कार्यरतहरुको जीवन झन् बढी संकट भएकाले कामकाजमा सहज होस् भनेर सहयोग गरेको उनले जनाए । स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका उनले क्वारान्टाइनमा बसेका तथा सर्वसाधारणका लागि राहत उपलव्ध गराएका छन् । उनले मानिसको दैनिक जीवन कष्टकर भएको भन्दै उनले आफ्नो तर्फबाट राहत प्रदान गरेको जनाएका छन् । उनले आफ्नो सहयोगबाट जनताको जनजीवन सहज होला भन्ने सोचेको बताए । उनले गाउँ जाँदा एकातिर सामाजिक चेतना जगाएका छन् भने अर्कोतिर आवश्यकता अनुसार राहत पनि बाँडेका छन् । उनले चैत्र ११ र १८ गते मास्क, सेनिटाइजर, साबुन, खाने तेल, चामललगायतका सामग्री बाँडेका छन् ।

उनले गाउँघरमा अप्ठेरो परेका बेला विभिन्न व्यक्ति र समुदायलाई आर्थिक तथा भौतिक सहयोग पनि गर्दै आएका छन् । उनले कोरोना भाइरस नियन्त्रणको लागि सरकारको भूमिका प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्