लायन्स क्लवद्धारा श्रमिक र मजदुरलाई राहत वितरण
काठमाडौं । शिवनगर बल्खुमा रहेको लायन्स क्लव काठमाडौं हाइभिजनले श्रमिक र मजदुरलाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
क्लवका सदस्य तथा समाजसेवी बाबुकृष्ण सापकोटाका अनुसार सामान्य मजदुरी गर्दै आएका निम्नवर्गिय परिवार र व्यक्तिहरुलाई राहत उपलव्ध गराइएको बताए । आज क्लवले मच्छेगाउँको उमा इटा उद्योगमा कार्यरत मजदुरलाई स्वास्थ्य सामग्रीका साथै खाद्य सामग्री उपलव्ध गराएको छ । सापकोटाका अनुसार उनीहरुलाई मास्क, खाजा, चिउरा, पानी र अन्य सामग्री वितरण गरिएको हो । क्लवका प्रथम उपाध्यक्ष अग्निविलास अधिकारीले अहिलेको अवस्थामा विशेष गरी मजदुर र दैनिक ज्यालादारी गरेर खाने श्रमिकहरु बढी संकटमा परेकाले आफूहरुको तर्फबाट राहत वितरण गरिएको जनाए । उनले क्लवले यसअघि पनि यस्तै सामाजिक कार्य गरेको पनि स्पष्ट पारे ।
क्लवले संकटा, महाँकाल, कलंकीलगायतका ठाउँमा पुगेर अति विपन्न परिवारलाई राहत दिएको हो । टंकेश्वर काठमाडौंका २ सयजति व्यक्तिलाई अ त्यावश्यक सामग्री उपलव्ध गराइएको अधिकारीको भनाई छ । क्लवले अहिलेसम्म झण्डै ८ सय जतिलाई सामग्री वितरण गरिसकेको छ । प्रथम उपाध्यक्ष अधिकारीले आगामी दिनमा पनि सहयोग उपलव्ध गराइरहने बताए । उनले यो बेला सरकारले कोरोना नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।
नेपाली कांग्रेस धादिङ का कोषाध्यक्ष समेत रहेका सापकोटाले लकडाउनका बेला बाहिर निस्कँदा संक्रमण फैलने खतरा भएकाले नागरिकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन् । क्लवले हात धुने कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न ठाउँमा गएर साबुन र अन्य सामग्रीसमेत वितरण गरिसकेको छ ।
