पाँच मुक्तक



आज मानव समुदायको मुस्कान हराउँदै छ

एक
आज मानव समुदायको मुस्कान हराउँदै छ
इटली, इराकमा लास गाड्ने चिहान हराउँदै छ
यस्तो लाग्छ अब यो कलि युगको अन्त्यमा
विश्व ब्रम्हाण्डबाट मानव पहिचान हराउँदै छ ।।

दुई
सहि हो वा गलत समाचार सोचिरहेछु
मन्त्रिले गरेकै हो त भ्रष्टाचार सोचिरहेछु
लकडाउनको बेला पाहुना आउने घरमा
नबुझ्ने कस्तो रैछ लाचार सोचिरहेछु ।।

तीन
ग¥यौं भन्यो सबैले विकासको चमत्कार विश्वमा
तेरो कि मेरो शक्तिशाली भन्दै हतियार विश्वमा
बल, बुद्धि, विकास र पैसा सबै क्षणिक हुने भए
पत्ता लागेको रहेनछ भाइरसको उपचार विश्वमा ।।

चार
साना ठुला धनि गरिब सबैको हाल एउटै भएको छ
कसरी बच्नेआज कोरोनाबाट सवाल एउटै भएको छ
फरक थिए प्रकृति, फरक थिए कारण मान्छे मर्न पनि
सारा विश्व मानव समुदाय कै काल एउटै भएको छ ।।

पाँच
लकडाउनले चुल्लो बाल्न कठिन भयो
आमालाई छोरा छोरी पाल्न कठिन भयो
यता टाल्यो उता प्वाल, उता टाल्यो यता
विचरा गरिबीका प्वाल टाल्न कठिन भयो ।।

-सुबाश जमरकट्टेल
नेचा, सोलुखुम्बु

प्रतिक्रिया दिनुहोस्