कोरोना कहरः भिडभाड र जमघटमा सरकारको प्रतिवन्ध



काठमाडौं । सरकारले महामारीका रुपमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न भिडभाड र जमघटमा रोक लगाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले सोमबार सम्भावित जोखिमबाट बच्न साना ठूला कुनै पनि जमघटमा कडाईका साथ रोक लगाउने र नगर्न तथा नगराउन आम नागरिकलाई आह्वान गर्ने निर्णय गरेको हो । गृह मन्त्रालय र स्थानीय प्रशासनलाई त्यसको अनुगमन र नियन्त्रण गर्ने जिम्मेवारी दिने निर्णय समेत बैठकले गरेको छ । त्यसैगरी सरकारले नेपाल र भारतबीचको यात्रुबाहक सडक यातायातका सार्वजनिक सवारीको सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । साथै कोरोनाविरुद्ध सार्क राष्ट्र प्रमुखबीच भएको भिडियो कन्फ्रेन्सको सम्वाद तथा निष्कर्षलाई कार्यान्वयनमा लैजान परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय समेत भएको छ ।
बैठकले उपत्यकाभित्र १ सय २० वटा आइसीयू बेडको व्यवस्था गर्ने र प्रत्येक प्रदेशमा १ सय १५ वटा आइसीयू बेडको व्यवस्था गर्ने, उपत्यकामा विभिन्न अस्पताल तथा भवनमा १ हजारसम्म बेडको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी दिएको छ । आवश्यकताअनुसार बेड र आइसोलेसन वार्डको व्यवस्था मिलाउन प्रदेश सरकारलाई आग्रह समेत गरिएको छ । उद्योगी व्यवसायीहरुसँग समन्वय गरी पीपीई, डाइग्नोस्टिक किट लगायतका सामग्रीको आपूर्तिको व्यवस्था मिलाउन उद्योग मन्त्रालयलाई जिम्मेवारी दिएको छ । त्यसैगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुको विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रभावकारी जाँच गर्न स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।
कोरोनाको संक्रमण रोकथामका लागि केन्द्रदेखि प्रदेशहरुमा आइसीयू बेड व्यवस्था गर्ने निर्णय समेत गरेको सो बैठकले जोखिम मोलेर उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ कर्मचारीलाई तलबको ७५ प्रतिशत भत्ता दिने र कमर्चारीलाई ५० प्रतिशत भत्ता दिने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्