सभापति देउवाविरुद्ध खनिए गगन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको गुटगत राजनीतिमा कमजोर देखिएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह सक्रिय हुन थालेको छ । महाधिवेशनको मिति तय भएसँगै सभापति शेरबहादुर देउवा र महामन्त्री सशांक कोइराला समूहले देशव्यापी सक्रियता बढाएसँगै सिटौला समूह पनि आफूलाई महाधिवेशन केन्द्रित गर्न थालेको हो । यस क्रममा सिटौला समूहले १४ औं महाधिवेशन लक्षित गरी सोमबार राजधानीमा छुट्टै भेलाको आयोजना गरेको छ । काठमाडौंको बत्तिसपुतलीमा आयोजना भइरहेको सो भेलाले उक्त समूहको महाधिवेशन रणनीति तय गर्ने बताइएको छ ।
भेलामा नेता कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधान, पुर्व रास्ट्रियसभा सदस्य धना खतिवडा, शिव हुमागाई, पुर्व सांसद मुक्ता यादव, उमाकान्त चौधरीलगायत करीब २०० कार्यकर्ता सहभागी रहेका छन् । भेलालाई सम्बोधन गर्दै सिटौला समूहबाट १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले आफ्नो समूहको शक्ति बढाएर परिवर्तनको पक्षमा वातावरण निर्माण गर्ने बताएका छन् ।
एकपछि अर्को निर्णयका कारण पार्टीभित्र अनेक विवाद सिर्जना भइरहेको बताउँदै थापाले क्रियाशील सदस्यता बाँड्न थालिसकेको अवस्थामा सभापति देउवाले विधानविपरीत विभाग संयोजक तोकेको आरोप लगाए । ‘१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता बाँड्न थालिसक्यो अहिले विभाग बनाउने?,’ थापाले प्रश्न गरे, ‘विधानभन्दा धेरै विभाग किन ? अहिले विभाग बनाउने कुरा गलत हो ।’
कांग्रेसले फागुन १५ भित्र आन्तरिक समायोजन सक्ने भने पनि अहिलेसम्म पूरा गर्न सकेको छैन। आन्तरिक समायोजनका काम पूरा नहुँदा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम धमाधम अघि बढेका छैनन्।

प्रतिक्रिया दिनुहोस्