पूर्व डीआईजी खरेल भ्रष्टाचार विरोधी अभियानमा
काठमाडौँ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक बनेपछि असन्तुष्टी जनाउँदै राजीनामा दिएका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचार विरोधी आन्दोलनको नेतृत्व गर्ने भएका भएका छन् । ‘हाम्रो नेपाल सुशासन अभियान’को ब्यानरमा खरेलको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान सुरु हुन लागेको हो । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच खरेलले ‘सुशासनका लागि भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ अभियानको सुरुवात भएको घोषणा गरेका हुन् । यो अभियानका लागि खरेललाई देवेन्द्र प्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठलगायतले साथ दिएका छन् ।
उद्घाटन समारोहमा अभियानका संयोजक खरेलले नातावाद र कृपावादको भूमरीमा फसेको मुलकको उद्धार गर्नका लागि आफूहरुले अभियान थाल्नु परेको बताए । ‘जहाँ पनि नातावाद, जहाँ पनि कृपावाद, अब त अति भयो, यो मुलुक बनाउने अभियानमा अब हामी सबै एक भएर अघि बढ्नु छ’, खरेलले भने, ‘भ्रष्टाचारको जालो तोड्न हाम्रो लडाई सुरु भयो ।’
हाम्रो नेपाल सुशासन अभियानका लागि खरेलको संयोजकत्वमा रहेको केन्द्रीय तदर्थ कार्यकारी परिषदमासुभारम्भ समारोहमा मन्तव्य राख्दै सिटौलाले भ्रष्टाचार निवारण गरेर सुशासन स्थापना गर्नु अभियानको मुख्य उदेश्य रहेको बताए ।
उनले भ्रष्ट, बेइमान र असक्षमहरुबाट शासित हुनु परेकोले मुलुक समृद्ध बन्न नसकेको बताए । ‘भ्रष्ट, बेइमान र असक्षमहरुबाट शासित हुनु जस्तो पीडा अरु नहुँदो रहेछ, त्यसैले हामी ‘हाम्रो नेपाल सुशासन अभियान’ लिएका आएका छौँ’ उनले भने ।