खुम्बु पासाङ ल्हामुका दुई विद्यालयमा कम्प्युटर ल्याब



खगिन्द्रराज बास्तोला, सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ मा रहेको श्री जनसेवा आधारभूत विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको छ । गाउँपालिका र विभिन्न संस्थाको प्राविधिक सहयोगमा सो ल्याब स्थापना भएको विद्यालयका प्रधानाध्यापक चित्र बस्नेतले जानकारी दिएका छन् । कम्प्युटर ल्याब स्थापनाका लागि फर्निचर कक्षाकोठा तयार पार्न गाउँपालिकाको आईसीटी सर्पोटबाट रु. ६ लाख ५० हजार विनियोजन गरिएको छ भने हिमालयन ट्रष्ट नेपाल र एडुटेक नेपालबाट १० वटा कम्प्युटर र इन्भर्टरसहित आवश्यक अन्य प्राविधिक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । एक कार्यक्रमको आयोजना गरी सो ल्याब हिजो विद्यालयलाई हस्तान्तरण गरिएको हो । 
१ सय ५० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत सो आधारभूत विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएपछि प्रविधि अध्ययनका लागि सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पाछिरि शेर्पाको भनाई छ ।

यसैबीच सोही गाविसको महेन्द्रज्योति मावि चौरीखर्कमा समेत मंगलबारबाट कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको छ । सो ल्याबमा २४ वटा कम्प्युटर रहेको विद्यालयले जनाएको छ । उता सोही गाउँपालिकाको युवावर्ष आधारभूत विद्यालयमा आगामी वर्षबाट कम्प्युटर ल्याब स्थापना गरिने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्