औपचारिक रुपमै राप्रपाबीच एकता
काठमाडौँ । टुट र फुटको लामो श्रृंखला व्यहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः एक भएको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर जबरा तथा डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच औपचारिक रुपमै एकता भएको घोषणा गरिएको हो । पार्टी एकता घोषणासभामा पटक–पटक नेतृत्वबाट धोका पाएका पार्टी कार्यकर्ताहरुले नेतृत्वलाई हिन्दू धर्मको पवित्र ग्रन्थ गीता छोएर अब उप्रान्त पार्टी नफुटाउने प्रतिवद्धता जनाउन बाध्य बनाएका थिए । कार्यकर्ताको आग्रहपछि राप्रपा अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खाएपछि राप्रपा कार्यकर्ताहरु यो पार्टी एकताबाट उत्साहित देखिएका छन् ।
राजधानीको भृकुटीमण्डपमा अवस्थित राष्ट्रिय सभागृहमा बुधबार राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा राजतन्त्र समाप्त समाप्त गरेर गणतन्त्र ल्याउन सहज वातावरण बनाउने काम राप्रपा नेतृत्वले नै गरेको आरोप समेत लागेको छ । गएको संघीय निर्वाचनमा कट्टर गणतन्त्रवादी नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई झापाबाट पराजित गरेका राप्रपाका एकमात्र प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले नै सो आरोप लगाएका हुन् । पार्टी नेताहरुको व्यक्तिगत स्वार्थको लडाईले हिन्दू राष्ट्र र राजसंस्था अन्त्य भएको आरोप लिङ्देनले लगाइरहँदा राप्रपा कार्यकर्ताहरुले निकैबेर थपडी बजाएका थिए ।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले आफूहरुप्रति अझै अविश्वास गरेपछि राप्रपाका तीनैजना नेताहरुले पार्टी अब कहिल्यै नफुट्ने र फुट्न नदिने प्रतिवद्धता दोहो¥याएका थिए । पार्टी एकीकरणका लागि गत शनिबार शैद्धान्तिक सहमती गरेका दुई राप्रपाका तीन अध्यक्ष राख्ने सहमति छ । सहमति अनुसार थापा, राणा र लोहनी तीनैजना समान हैसियत रहने गरी पार्टी अध्यक्षमा रुपान्तरण भएका छन् । तीनैजनाको सहमतिमा पार्टी सञ्चालन गर्ने गरी गत शनिबार नै उनीहरुले हस्ताक्षर गरेका थिए । सहमति अनुसार एकीकृत पार्टीको नाम राप्रपा रहने र झण्डाको गाई तथा निर्वाचन चिन्हबारे छलफल गरेर ६ महिनाभित्र निष्कर्षमा पुग्ने निर्णय भएको छ ।
पार्टी एकतापछि देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति र विकल्प प्राप्त गरेको अध्यक्ष थापाले बताएका छन् । देश कठिन अवस्थाबाट जुधिरहेको अवस्थामा जनताले विकल्प खोजेको र विकल्प निर्माण गर्ने क्रममा पार्टी एक भएको उनले बताए । थापाले पार्टी एकतासँगै राजनीतिमा तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको बताए । अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले बोकेको विचार र मार्गचित्र त्रृटिपूर्ण रहेकोसमेत बताएका छन् । नेपाली समाजमा यी दुई पार्टीको विचारले विभाजनको रेखा कोरेको आरोप उनले लगाए ।
हिन्दू राष्ट्र र राजसंस्थासहितको संसदीय प्रजातान्त्रिक प्रणालीलाई निर्देशक सिद्धान्त मानिएको छ ।
यसैगरी अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भईरहेको भन्दै आफूहरुको पार्टी एकताले जनतामा उत्साह जागेको जिकीर गरे ।
