गर्भनरको लिगलिगे दौडमा चिन्तामणि अगाडि !
काठमाडौं । नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर बन्नका लागि आकांक्षीहरुबीच लिगलिगे दौड सुरु भएको छ । गर्भनर डा.चिरञ्जीवी नेपालको कार्यकाल समाप्त हुन लागेका कारण गभर्नर बन्नका लागि दौडधूप सुरु हुनु नौलो कुरा होइन । नेपालको कार्यकाल आगामी चैत्र ५ गते समाप्त हुँदैछ ।जसका कारण राष्ट्र बैंकको नयाँ गभर्नरबारे अनेकौं चर्चा र अड्कलबाजीहरु समेत भइरहेका छन् ।
हालसम्म दर्जनौ व्यक्ति गभर्नर बन्नका लागि लालायित देखिए पनि मुख्यगरी तीनजनाबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, शिवराज श्रेष्ठ र नेपाली लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी अहिले मुख्य प्रतिस्पर्धी ठानिएका छन् । नेपालको राजनीतिक समिकरण यहि रहिरहे राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटी गर्भनर बन्ने पक्का पक्की जस्तै देखिएको सरकारी स्रोतले दावी गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा शिवाकोटी छन् भने अर्थमन्त्री डा.युवराज खतिवडा नेपाल लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारीलाई गभर्नर बनाउनुपर्ने पक्षमा रहेका छन् । केही दिनभित्रै सरकारले गभर्नर सिफारिसका लागि समिति बनाउने र त्यसले राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय शिवाकोटी, शिवराज श्रेष्ठ र लगानी बोर्डका सीइओ अधिकारीलाई सिफारिस गर्ने आन्तरिक तयारी भइरहेको अर्थ मन्त्रालय सम्वद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार सिफारिस हुने यिनै तीन जनामध्येबाट एकजना राष्ट्र बैंकको गभर्नर बन्ने छन् । प्रधानमन्त्री ओलीसँग निकट रहेर काम गर्दै आएका कारण पनि शिवकोटीका लागि गभर्नरको लिगलिगे दौड जित्न सहज हुन सक्ने अनुमान गरिंदै छ । प्रधानमन्त्री ओलीले हालै मात्र शिवाकोटीद्वारा लिखित एक पुस्तकको विमोचन समेत गरेका थिए ।
विगत लामो समय विद्यार्थीकाल देखि नै एमाले निकट भएर काम गरेका शिवाकोटीलाई प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्भनर बनाउने आंकलन बजारमा छताछुल्ल भएपछि अन्य दावेदारको दौडधुप केही कम देखिन्छ ।