स्वतन्त्र शैक्षिक परामर्श संघमा भिड्दै बासु



काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को चैत २९ गते हुने नयाँ अधिवेशनको लागि वासु नेपालले अध्यक्षमा दावी गरेका छन् ।
नेपालले आफ्नो साझा नेतृत्वले सबै व्यवसायीको हितमा काम गर्ने दावी गरेका छन् । फेकनको स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका उनी आफूलाई अध्यक्षको स्वभाविक उम्मदेवार भएको बताउँछन् । सदस्य, वरिष्ठ उपाध्यक्ष भइसकेका उनले शैक्षिक परामर्शको क्षेत्रमा देखिएका आन्तरिक र वाह्य समस्याको हल गर्ने योजना पनि अघि सारेका छन् । आगामी २२ गते फेकनको साधारणसभा हुँदैछ । उनले सबै व्यवसायीको पक्षमा साझा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
झण्डै २ सय सदस्य रहेको शैक्षिक परामर्शदाताहरुको साझा संस्था फेकनले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गर्दैछ । फेकन २०६५ सालमा स्थापना भएको हो । अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, २ जना सचिव, कोषाध्यक्ष र ६ सदस्यीय निर्वाचनबाट आउने छन् । उपाध्यक्ष, सहकोषाध्यक्ष र तीन सदस्य मनोनीत गर्ने प्रावधान रहेको छ । अध्यक्षको उम्मेदवार दिने तयारीमा रहेका नेपालले आफ्नो उम्मेदवारीबारे पनि मतदाताहरुलाई जानकारी दिइसकेका छन् । नेपालले शैक्षिक क्षेत्रमा देखिएका समस्याको अन्त्य गर्ने, सरकार र शैक्षिक परामर्शदातावीच छलफल गरी कुनै पनि विषयको टुंगो लगाउने र शिक्षा मन्त्रालयसँग समन्वय गर्ने जनाएका छन् ।
शैक्षिक परामर्शदाताको भावनाविपरीत सरकारले बनाएका नीति नियममा छलफल गरी व्यवसायीमैत्री बनाउने उनको लक्ष्य रहेको छ । व्यवसायमा देखिएका नकारात्मक भावनालाई चिर्दै अभिभावक, विद्यार्थी र समाजमाझ व्यवसायीलाई चिनाउने पनि उनले योजना बनाएका छन् । झण्डै डेढ दशक अघिदेखि सक्रिय उनी पुतलीसडकमा रहेको प्रोफेशनल भिजा एण्ड एजुकेशन सर्भिसका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्