सरकारले कार्यशैली परिवर्तन गर्नुपर्छ :बरिष्ठ नेता नेपाल



काठमाडौ । पुर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपाको नेतृत्वमा रहेको सरकारले मुलुकमा समृद्धि कायम गर्ने लडाईमा सहजै सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । नेता नेपालले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्दै सबैलाई समेटेर आक्रामक कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता औल्याए ।
रौतहट टाइम्स साप्ताहिकले २१ औं वर्ष पुरा गरि २२ औं वर्ष प्रवेश गरेको अवसरमा आइतबार आयोजन गरेको वार्षिकोत्सव तथा ‘राजनीतिको भावी कार्यदिशा’ विषयक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा वरिष्ट नेता नेपालले सरकार र पार्टीमा देखिएका विद्यमान समस्या समाधान गर्न नेतृत्वले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता औल्याए । ‘चुनौती धेरै छैन् ,विविधतालाई एकतामा बदलेर अगाडी बढ्न सकिए सफलता हासिल गर्न कठिन छैन् ।’नेता नेपालले भने । उनले मुलुकमा राजनीतिक लडाई पुरा भएपनि समृद्धि र विकासमा सफलता हासिल गर्नुपर्ने गरि सकारात्मक लडाई आवश्यक रहेको बताए । वरिष्ट नेता नेपालले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य ठीक भएको बताउदै सो लक्ष्यलाई पुरा गर्न सबै पक्ष संवेदनशील भएर लाग्नु पर्ने आवश्यकता औल्याए । उनले सरकारले अनुगमन प्रणालीलाई सुधार गर्दै नवप्रर्वधनात्मक कार्यको समेत शुरुवात गरि मूल्याङ्कन प्रणालीलाई व्यवस्थित बनाउन सकेमा विकास र समृद्धि सहजै हासिल हुन सक्ने बताए । पुर्व प्रधानमन्त्री नेपालले विकास योजनाहरु दीर्घकालीन हुनुपर्ने र योजना बनाईसकेपछि त्यसको शसक्त कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याए । ‘सरकारले सपना देख्नु पर्छ तर त्यसलाई विपनामा उतार्न आवश्यक कार्ययोजना बनाएर लागु गर्न सक्नुपर्छ ’उनले भने । नेता नेपालले आफ्नो दल पुर्ण प्रेस स्वतन्त्रताको लागि प्रतिवद्ध रहेको स्पष्ट पार्दै प्रेसले पनि स्वतन्त्रताका नाममा नकारात्मक भावना सिर्जना हुने गरि समाचार संप्रेषण गर्न नहुने आवश्यकता औल्याए । ‘प्रेसले सबै नागरिकमा देशप्रेम र आशा जगाउन सक्नुपर्छ, प्रेसको काम नकारात्मकता फैलाउने होइन्’नेपालले भने । उनले आफुहरुले प्रेस स्वतन्त्रताको नाममा छाडापनलाई समर्थन गर्न नसक्ने बताए । नेता नेपालले सरकारले सफलता हासिल गर्न र समृद्धि कायम गर्न मुलुकको कृषि, पर्यटन र जलश्रोतको क्षेत्रको भरमग्दुर उपयोग गर्नुपर्ने आवश्यता औल्याए । उनले सरकारी संयन्त्रहरुले आफ्नो जिम्मेवारी अनुसार फिल्डमा नै गएर अनुगमन शसक्त बनाउनु पर्ने आवश्यकता औल्याए ।
रौतहट टाइम्सका प्रकाशक सम्पादक गोविन्द चौलागाईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मुलुकको समृद्धि कायम गर्न सबै पक्षको एकिकृत प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा राष्ट्रिय सभाको विधायन समितिका सभापति रामनारायण विडारीले संविधान संसोधनको विषयलाई कसैले पनि अतिरञ्जित गर्न नहुने बताए । उनले मुलुकका समस्याहरु समाधान गर्नका लागि आवश्यता अनुसार संविधान संसोधन गर्न सकिने बताए । राष्ट्रपतिका सल्लाहकार लालबावु यादवले व्यक्ति विशेषलाई आधार मानेर संविधान संसोधन गर्न नहुने र त्यसो गरिए मुलुकले गम्भीर संकट भोग्नुपर्ने चेतावनी दिए ।
कार्यक्रममा रौतहट जिल्लामा जन्मेर उच्च ओहोदामा पुगेका नेपाल सरकारका सचिव रामकृष्ण सापकोटा, प्रहरीका एआइजी आशा सिह, बैकर्स एशोसियसनका अध्यक्ष एवं सानिमा बैङ्कका सिइओ भुवन दाहाल, कमल रानालगायतलाई बधाई ज्ञापन गरिएको थियो ।
वरिष्ठ पत्रकार पण्डित सहित तीन सम्मानित
कार्यक्रममा पत्रकारिता मार्फत विकास र सुशासनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै राजधानी दैनिकका कार्यकारी सम्पादक सागर पण्डितलाई सम्मान गरिएको थियो । पण्डितलाई पुर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ट नेता माधव कुमार नेपालले सम्मान गरेका हुन् ।
यसैगरि कार्यक्रममा लोडसेडिङ हटाई मुलुकलाई उज्यालो बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा पछिल्लो समय विकास कार्यमा महत्वपुर्ण भुमिका खेलेको भन्दै सडक विभागका महानिर्देशक केशव कुमार शर्मालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्