नुन, चिनी, ग्याँसको अभाव तत्काल हुँदैन : झा



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले १ लाख ५८ हजार मेट्रिक टन नुनको स्टक रहेको बताएका छन् ।
कोरोना भाइसरका कारण नुनलगायतका खाद्य सामाग्री अभाव हुने भन्दै उपभोक्ताहरुले बजारमा अनावश्यक सामान खरिद गरी भण्डारण गरिरहेका बेला डिभिजन मेनेजर झाले सो कुरा बताएका हुन् । कोरोना भाइरसको संक्रमणपछि आपूर्ति ठप्प हुने हल्लासँगै बजारमा कालोबजारी बढ्न थालेकोप्रति सचेत रहन आग्रह गर्दै उनले कर्पोरेशनसँग झण्डै १० महिना पुग्ने नुन, चिनी र ग्याँस मौज्दात रहेको स्पष्ट पारेका छन् ।
अहिलेसम्म मौज्दात र आपूर्तिमा समेत कुनै पनि प्रकारको समस्या नरहेको स्पष्ट पारेका हुन् । अहिले भारतबाट नियमित रुपमा नुनको आयात भइरहेको भन्दै उनले यो संक्रमणको कारण बजारमा नुनको अभाव नहुने स्पष्ट पारे । अहिले बजारमा मासिक १६ हजार मेट्रिकटन नुनको खपत हुँदै आएको छ । साल्ट ट्रेडिङले अहिले ६ महिनाको आयातलाई धान्न सक्नेगरी बफर मौज्दात राख्दै आएको छ । यसका लागि अहिले १ लाख ३६ हजार मेट्रिक टन नुन छुट्याइएको छ । त्यस्तै अहिले बजारमा रहेको र मार्गस्थलमा रहेको समेत गरी २२ हजार ५ सय मेट्रिकटन थप मौज्दात समेत गरी कुन १ लाख ५८ हजार ५ सय मेट्रिक टन स्टक रहेको हो । त्यस्तै, चिनी र ग्यासमा समेत कुनै पनि अभाव नभएको र नियमित रुपमा उत्पादन तथा वितरण भइरहेको झाले जानकारी दिए । अहिले साल्ट ट्रेडिङसँग २ हजार ५ सय मेट्रिक टन चिनी गोदाममै छ भने ७ हजार ५ सय मेट्रिकटन मार्गस्थल रहेको जनाइएको छ ।
अहिले नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिकटन चिनीको माग छ भने नेपालको उत्पादन क्षमता १ दाख ८० हजार मेट्रिकटन छ । साल्ट ट्रेडिङ र अन्य उद्योगीहरुसँग समेत गरी अहिले नै १ लाख १० हजार मेट्रिकटन चिनी स्टक रहेको उद्योग मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले नुन र चिनीका अतिरिक्त एससीटी ग्यास समेत उत्पादन र बिक्री गर्दै आएको छ । यसको उत्पादन र बिक्री पनि नियमित भइरहेको झाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्