थुलुङ दुधकोशीमा थपियो अर्को योजना



फाइल फोटो, सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा २५ रोपनी जग्गाभित्र सुविधासम्पन्न खेलग्राम निर्माण हुने भएको छ । संघीय सरकारको एक ‘स्थानीय तह – एक खेलग्राम’ निर्माणको अवधारणा अनुरुप निर्माण हुन लागेको यो खेलग्रामका लागि संघीय सरकारको खेलकूद मन्त्रालयबाट ५० लाख रकम विनियोजन भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईको पहलमा विनियोजन भएको यो रकमबाट यस आर्थिक वर्षमा खेलग्राम निर्माणका लागि आवश्यक जग्गाको पहिचान, सर्ट डीपीआर निर्माण र ग्राउण्ड सम्याउने काम गरिने अध्यक्ष राईले रहस्य खबरलाई बताउनु भयो । क्रमागत योजना अन्तर्गत बजेट विनियोजन भएसँगै गाउँपालिकालाई खेलकुदको हब बनाउने बाटो खुलेको उहाँको भनाई छ ।
यसैबीच दुईवर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सोही गाउँपालिकामा ग्रामीण बिद्युतिकरणको काम आइतबारबाट सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर १ नेलेबाट सुरु भएको सो कार्यक्रमका लागि नेपाल विद्युत प्रधिकरणको २ करोड र संघिय सरकारबाट ३ करोड बजेट विनियोजन भएको अध्यक्ष राईले जानकारी दिनुभयो । प्राधिकिरण सोलुखुम्बुका प्रमुख डेगराज पौडेलका अनुसार सो कार्यक्रम अन्तर्गत विद्युत पोल गाड्ने काम ३ महिना भित्र पञ्चन सम्म पु¥याउने लक्ष्य राखिएको छ ।

 

उता दुधकोशी हाईड्रोपावर प्रा.लि.को आयोजनामा बर्खुघाटमा पुरक वातावरणीय प्रभाव मुल्यांकन विषयक सार्वजनिक सुनुवाई सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष राईले दुधकोशी २ (जलेश्वरी) जलविद्युत आयोजना निर्माणका क्रममा खर्च गरिने सामाजिक उत्तरदायित्व वापतको रकम स्थानीय सरकारको समन्वयमा खर्च गरिने प्रवन्ध मिलाउन आयोजनालाई सुझाव दिनु भएको छ ।
पुर्वमाओबादीका हाईड्रो विभागीय प्रमुख समेत रहेका राईले दुधकोशीमा ७० मेगावाटको हाईड्रो सम्पन्न गर्न निकै चुनौतिको विषय भएको बताउँदै आयोजना सम्पन्न गर्नका लागि स्थानीय तहको पूर्ण सहयोग रहने आश्वासन समेत दिनुभयो । सुनुवाईमा जनप्रतिनिधि तथा सरोकारवालाहरुले वडा नं ६ मुक्ली र वडा नं ८ देउसालाई अतिप्रभावितमा राख्नुपर्ने, माछा लोप हुने र माछा मारेर जीविका चलाउने परिवार विस्थापित हुनुपर्ने अवस्था, लगानीको सुनिश्चित गर्न, सुरुङ खन्दा अपनाउनुपर्ने सावधानी तथा संभावित क्षतिलाई ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका थिए । उक्त आयोजना निर्माणमा भारतीय कम्पनीको संलग्नता रहेको बताइएको छ ।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने रबुवाघाटमा नेपाल विद्युत प्राधिकरणको लगानीमा बन्ने दुधकोशी जलाशययुक्त आयोजना (६३५ मेगावाट)का कारण दुधकोशी २ (जलेश्वरी) जलविद्युतको क्षमता २३० बाट ७० मेगावाटमा झारिएको थियो । २३० मेगावाट जलविद्युत आयोजनाको वातावरणय प्रभाव मुल्यांकन सन् २०१५ मै स्विकृत भएपनि क्षमता परिर्वतन भएका कारण पुरक प्रभाव मुल्यांकन गर्नुपरेको हो । साढे १४ अर्ब लगानीमा सम्पन्न हुने आयोजनाको प्रभावित क्षेत्र थुलुङ दुधकोशी गाउँपालिका मात्र पर्दछ ।
दुधकोशी हाईड्रोपावर प्रा.लिका प्रबन्ध निर्देशक जनक खनालले सुनुवाई कार्यक्रमबाट आएका सुझावलाई समावेश गरि प्रतिवेदनलाई पुर्णता दिने र प्रभावित नागरिकलाई सजिलो हुनेगरि आयोजना निर्माणको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा र वडा नं ५ जुबुको सिमानामा बाँध निर्माण हुने आयोजनाको विद्युत गृह वडा नं ४ जुबु क्षेत्रमा निर्माण गरिनेछ । आयोजनाको ३.४ कि.मि. सुरुङ खनिनेछ । वडा नं ४, ५ र ७ लाई अति प्रभावितको सूचीमा राखिएको छ । काम शुरु भएको ५ बर्षमा निर्माण सम्पन्न गर्ने राखिएको आयोजनाले बार्षिक ४३० गिगावाउट घण्टा विद्युत उत्पादन गर्नेछ । कार्यक्रममा वातावरणविद् सलिल देवकोटाले वातावरण प्रभाव मूल्यांकनबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्