सुशासनको प्रत्याभूति जनताले प्रत्यक्ष रुपमा गर्नुपर्छ : अध्यक्ष थापा
काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताउनुभएको छ ।
७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल, सुदृढ, दिगो र सर्वमान्य बनाउनेतर्फ सरकार गम्भीर भएर लाग्नुपर्दछ ।”
अध्यक्ष थापाले प्रजातन्त्रको संवद्र्धन र जनतालाई विकासको पूर्वाधारप्रति सहभागी गराउन प्रमुख दलहरुले आफूलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नु अपरिहार्यतामाथि जोड दिदैं सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणका लागि सरकारले देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी र सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकको विकास र समृद्धिका लागि सरकारले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
राप्रपाका नेता सीताराम बर्तौला, रामहरी न्यौपाने र राप्रपा हेटौँडा नगरसमितिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपालाई राष्ट्रको वैकल्पिक प्रजातान्त्रिक पार्टीका रुपमा अघि बढ्न नेता र कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर पार्टी सङ्गठनलाई दरिलो बनाउन लाग्नुपर्ने बताउनुभयो ।