सोलुखुम्बु बहुमुखी क्याम्पसले उठायो ८० लाख



सोलुखुम्बु । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका सोलुखुम्बु कांग्रेसका लोकप्रिय नेता प्रकाशसिंह कार्कीले १० लाख १ सय ११ रुपैयाँ बहुमुखी क्याम्पसलाई हस्तान्तरण गर्नुभएको छ । सोलुखुम्बु बहुमुखी क्याम्पसद्वारा सञ्चालित ‘मेची–काली विश्व अभियान’का लागि नेता कार्कीले क्याम्पस प्रमुख उद्धवकुमार शर्मालाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

मेची–काली विश्व अभियानको वार्षिक प्रगति सार्वजनिक गर्न क्याम्पसद्वारा आयोजित सो कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकालको तर्फबाट घोषित ३० लाख रुपैयाँ पनि प्रदान गरिएको थियो । नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले सो रकम हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा अभियान सुरु भएदेखि हालसम्ममा ८० लाख भन्दा बढी रकम संकलन भएको जानकारी दिइएको थियो । क्याम्पसले मेची–काली अभियानबाट एक अर्ब रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिएको छ ।

क्याम्पसले ट्राभल्स, टुरिजम् र माउन्टेनियरिङ कोर्समा ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार छात्र छात्रा, विभिन्न २५ राष्ट्रका २५ जना र अति पिछडिएका समुदायबाट १३ जना गरी पाँच सय जनालाई खान बस्न सहित निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने आफ्नो लक्ष्य अनुसार अहिले सहयोग रकम संकलनको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्