नेकपा सोलुको अध्यक्षमा बास्तोला, सचिवमा खालिङ्ग



सोलुखुम्बु ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी डुफकुमार बास्तोलाले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न विवादकाबीच सोलुखुम्बु जिल्ला कमिटीद्वारा सदरमुकाम सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्षको जिम्मेवारी बास्तोलालाई दिइएको घोषणा गरिएको हो । नेकपाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा सम्पन्न अगुवा कार्यकर्ता भेलामा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले पार्टीको अध्यक्ष घोषणा गरेका थिए ।

जिल्ला कमिटी सचिवको जिम्मेवारी शिशिर खालिङ्गलाई दिइएको छ । नेकपा जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष मानवीर राईलाई ओली पक्ष केन्द्रीय कमिटिको सदस्यमा मनोनित गरिएसँगै सोलुखुम्बुमा नेकपाको अध्यक्षको जिम्मेवारी कसले पाउला भन्ने आम कौतुहलता थियो ।

अध्यक्ष राईसँगै अन्य चार जना समेत सोलुखुम्बु जिल्लाबाट केन्द्रीय समिति सदस्य मनोनित भएका थिए । जिल्ला कमिटी सचिव रहेका गोम्बु शेर्पा प्रचण्ड–माधव समूहमा सक्रिय छन् । उनको ठाउँमा माओवादी पृष्ठभूमिकै खालिङ्गलाई सचिवको जिम्मेवारी तोकिएको छ ।

बास्तोला हाल नेचा सल्यान गाउँपालिकाको अध्यक्षका साथै जिल्ला कमिटी कार्यालय सदस्य थिए । पार्टीको विभिन्न जिम्मेवारमिा रहेर उनले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको नेकपा कार्यकर्ताहरु बताउँछन् । सचिव राई माप्य दूधकोशी गाउँपालिका निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्