मुक्तक

राम्जि रानाभाट

मुक्तक १
शिरमा राम्रो ढाका टोपी हाम्रो आफ्नै पन छ
ढाका टोपी वीरताको बिश्व प्रतीक भन्छ
‘टोपी बेच इमान बेच्नु हुन्न’,भन्छिन् आमा
तिमी आफू सुन्दर बन देश आफै बन्छ
मुक्तक २
पिरतीको गमलामा एउटा फूल सारें मैले
त्यही फूलको अस्तित्वलाई आफै टुक्रा पारें मैले
जति पाएँ चोट सारा जतन गरेर राखेको छु
दुखे पनि भित्र कतै बाहिर हाँस्दै टारें मैले
मुक्तक ३
पार्टी छोडी पार्टीबाट अर्को पार्टी नजाऊ साथी
गफै गफले बेकुफ बनाउँछ गफ नलाऊ साथी
धेरै बोल्ने मान्छेहरु अक्सर रित्ता हुने गर्छन्
भित्र छुरा चलाएर बाहिर हाँस्दै नआऊ साथी
मुक्तक ४
खै कसको श्राप पर्यो जीवनको जुनेली टहटह हरायो
जुनै काममा हात हाले पनि त्यहाँ त्यसको सह हरायो
चुसेर पतेराले फुल्दा नफुल्दै मेरा सपनाका खेतीपातीमा
धानको बाला जस्तै झुलेर माया फाँटमा लहलह हरायो
राम्जि रानाभाट
रिसिङ गा.पा.४
थप्रेक तनहुँ

