महिलालाई बेचबिखनका लागि दुबई लान खोज्ने एक ब्यक्ति पक्राउ



काठमाडौँ। मानव बेचविखन तथा अनुसन्धान ब्यूरोले मानव बेचविखन गर्न लागेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३५ वर्षीय जीतबहादुर भुजेल रहेका छन्। उनले आफ्नो पहिचान लुकाएर ‘मङ्गले तामाङ’ भन्ने गरेको खुलेको छ। महोत्तरीको साविक खयरमारा गा.वि.स.–४ घर भई काठमाडौँ–७ चाबहिल बस्ने उनलाई भिजिट भिसा बनाएर दुबईमा एक महिलालाई पुर्‍याएर बेचविखन गर्न लागेको आरोप लागेको छ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीका अनुसार घरायसी कामको लागि दुबई लैजाने भनी फकाएर पासपोर्ट बनाउन लगाएपछि २०७३ बैशाख २६ गते गाउँबाट महिलालाई काठमाडौँ बोलाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।

प्रवक्ता द्विवेदी भन्छन्, “काठमाडौँ आएपछि सोही वर्षको बैशाख २७ गते नचिनेका मानिसको साथमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जीतबहादुरले पठाएको देखिएको छ।”

तर आफ्नो पासपोर्टको विवरण शंका लागेर महिलाले प्रहरीलाई सोधपुछ गर्दा घरायसी काममा दुबई पठाउन लागेको नभई झुक्यानमा पारी भिजिट भिसा बनाएर दुबईमा बेचबिखन गर्न लागेको थाहा पाएको र उनले अपराध महाशाखामा जाहेरी दिएको प्रवक्ता द्विवेदीले बताए।

मानव बेचविखन अनुसन्धान ब्यूरोमा भने गत साउन २५ गते मात्रै पीडित महिलाले दिएकी थिइन्।

सोही जाहेरीको आधारमा मानव बेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले जीतबहादुरलाई काठमाडौंको सुन्धाराबाट हिजो पक्राउ गरेको हो। उनीविरुद्ध ब्यूरोले मानव बेचविखन तथा ओसारपसरा नियन्त्रण ऐन – २०६४ अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्