माप्य दुधकोशी गाउँपालिका अध्यक्ष राई सम्मानित



काठमाडौं । माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई सम्मानित हुनुभएको छ । माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर २ स्थित दिलुङ कृषक समुहको भवन निर्माणका साथै दिलुङ क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै शुक्रबार काठमाडौंको गोल्फुटारस्थित किङ्स फुडमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष राईलाई सम्मान गरिएको हो ।

दिलुङ कृषक समुहको काठमाडौं समितिले आयोजना गरेको सोही कार्यक्रमबीच गत वर्ष भवन उद्घाटन तथा विभिन्न खेलकुद प्रतियोगिता कार्यक्रममा सहयोग गर्ने सहयोगी दाताहरुलाई प्रसंशा पत्र प्रदान गरियो । माप्य दुधकोशी गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा निर्माण गरिएको भवनको गत २०७६ साल माघ १६ गते औपचारिक उद्घाटन गरिएको थियो । अहिले समुहको उक्त भवनसम्म सडक विस्तार भइसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले गाउँको विकासका लागि विभिन्न पेशा, व्यवसाय तथा अध्ययनको शिलशिलामा काठमाडौं आई बसोबास गर्ने यूवाहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
राप्छाको सामाजिक, साँस्कृतिक तथा प्राकृतिक महत्वको बारेमा चर्चा गर्दै उहाँले यहाँभित्रको यूवाशक्तिलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले दक्ष जनशक्ति उत्पादनका साथै यूवाहरुलाई स्वरोजगार बनाउनेतर्फ आफुहरुको ध्यान रहेको बताउनुभयो । गाउँको तत्कालिन र दीर्घकालिन विकासका लागि सबैबाट रचनात्मक र सकारात्मक सूझाव सल्लाह आवश्यक रहेको भनाइ उहाँको थियो ।

कार्यक्रममा समुहका संस्थापक सचिव तथा वर्तमान संरक्षक प्रकाश खालिङले समुहको हरेक गतिविधिमा काठमाडौं टिमबाट महत्वपूर्ण सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै अब समुहले ठोस कार्ययोजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समुहको काठमाडौं समितिले यसअघि अघि बढाएको दिलुङको माटो सुहाउँदो आरुबखडा तथा नास्पाती पकेट क्षेत्रको रुपमा विकास गर्ने तथा अन्य नगदे कृषि उत्पादन गर्ने अवधारणालाई सार्थक बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

समुहका सल्लाहकार प्रमुख प्रदिप राईले गाउँमा समुहले अघि बढाएको हरेक गतिविधिमा काठमाडौं टिमबाट प्राप्त हुँदै आएको सहयोग र सहकार्यप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

समुहका काठमाडौं समिति संयोजक सन्तोष राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सचिव बसन्त राईले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्