मृगौलापीडित जसमान वाईबाद्वारा सहयोगको याचना

सिन्धुली / सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका वडा नं. ५ शिखरपुर निवासी जसमान वाईबा जीवनमरणको दोसाँधमा छन् । चक्रबहादुर वाईबा र छिछल्ला माया वाईबाको ज्येष्ठ सुपुत्र वाईबा दुईवटै मृगौलाले काम गर्न छोडेपछि जीवन मरणको दोसाँधमा पुगेका हुन् । झण्डै पाँच वर्ष यतादेखि डायलासिस गराइरहेका उनी त्यसका लागि पनि खर्चको अभाव हुन थालेपछि आफूलाई बचाइदिन आग्रह गर्दै सहयोगको याचना गर्न थालेका छन् ।

देश र समाजका लागि केही योगदान गर्नुपर्ने यो कल्कलाउँदो उमेरमा जीवन रक्षाको भीख मागेर भौतारिनुपर्दा आफ्नै जीवनसँग दिग्दार लाग्न थालेको वाईबाले बताए । “दाताहरुले सहयोग गरे मिर्गौला फेरेर अझै केही गर्ने थिएँ ।” भएको सारा सम्पत्ति आफ्नो उपचारका क्रममा सकिएको बताउँदै उनले कसैको सहयोग नपाए अब डायलासिस गर्न सक्ने अवस्था समेत नरहेको बताए । परवारमा नौजना सदस्य छन्, ऋणका कारण भएको एउटा घर पनि बेच्नु पर्ने बाध्यता आइसक्यो, अब मैले कसरी उपचार गर्नु ? वाईबाले भने ।
ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा हप्ताको एकपटक दुवै मृगौलाको डायलासिस गराइरहेका उनले आफ्नो जीवनरक्षाका लागि सहयोग गरिदिन सबैसँग अपिल गरेका छन् । एनसीसी बैंक लोकन्थली शाखामा जसमान वाईबाको नाममा रहेको बचत खाता नं. ०४५००००१४१३१० मा जम्मा गरिदिनु हुन वा मोवाइन नम्बर : ९८४९६२०४८३/९६१६३८११५८ मा सम्पर्क गर्न सकिने उनको भनाइ छ ।

