राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभए



काठमाडौं,६ पुस।पूर्वराष्ट्रपति डा. रामवरण यादवले असंवैधानिक संसद भंगले लोकतन्त्रिक गणतन्त्रको बाटोलाई समेत आघात पुगेको प्रतिक्रिया जनाएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा अहिले राष्ट्रपतिको संस्थामाथि चोट पुगेको उनको भनाइ छ ।

‘अहिलेका सम्माननीय राष्ट्रपति र प्रधानन्त्रीले हस्ताक्षर गरेर दिएको संविधान मैले जनताका लागि अर्पण गरेको हुँ,’ उनले भने, ‘अहिले राष्ट्रपतिको संस्थालाई चोट पुगेको छ ।’ मुलुकमा भइरहेको राजनीतिक र संवैधानिक घटनाले आफू दुःखी र मर्माहत बनेको उनले सुनाए । उनले भने, ‘मलाई हिजोको घटनाले मर्माहत र दुःखी बनाएको छ, प्रधानन्त्री र राष्ट्रपतिले चालेको स्टेप संवैधानिक, राजनीतिक र नैतिक रुपमा मिलेको छैन ।’

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अनुमोदन गरेकी थिइन् । संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले राष्ट्रपति संस्थामाथि नै देशवासीले प्रश्न उठाएको भनाइ छ । विधान र जनताको सर्वोच्च निकाय संसद्बाट समस्याहरुको छिनोफानो गर्दै अघि बढनुपर्ने अहिलेको आवश्यकता भएको भन्दै यादवले संवैधानिक बाटोबाट अघि बढ्न पनि सुझाव दिए । संविधानमा नै नभएको स्टेप चाल्दा राष्ट्रपति जस्तो संस्थाले जनतालाई अभिभावकत्व दिन नसकेको उनको गुनासो छ । ‘प्रधानमन्त्री, राष्ट्रपति जस्तो संस्थामाथि म कहिल्यै बोल्न गरेको छैन, हिजोको घटनाले मर्माहत भएको छु, अब बोल्छु, । राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभएन,’ यादवले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र प्रमुखको उत्तरदायित्व पूरा गर्न चुकेको उनको भनाइ छ । राष्ट्रपतिले विर्सेको दायित्वमा सर्वोच्च अदालतले ध्यान पुर्याउने उनको विश्वास छ । ‘आशा र विश्वास गर्छु । यसमा सम्मानित सर्वोच्च अदालतको ध्यान पुगोस, पुग्नै पर्छ । मेरो विनम्र अनुरोध पनि गर्छु,’ पूर्वराष्ट्रपति यादवले भने ।

प्रतिक्रिया दिनुहोस्