कांग्रेसलाई सशक्त बनाउन गुट उपगुटको अन्त्य हुनुपर्ने कांग्रेस नेता कार्कीको भनाई



केदार बस्नेत

सोलुखुम्बु , २ पुष ।नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले नेपाली कांग्रेसलाई बलियो र सशक्त बनाउन पार्टी भित्र मौंलाउदै गएको गुट उपगुटको अन्त्य हुनु जरुरी भएको बताउनुभएको छ।

पार्टीको गाउँ जागरण अभियानका क्रममा सोताङको वडा नं ४ गैरीगाउंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले सो कुरा बताउनुभएको हो।पार्टीलाई एकढिक्का बनाएर लान सके जिल्लाको बिकास र समृद्धिका लागि महत्वपूर्ण योगदान गर्न सकिने बताउंदै वहाँले नेताको पछी नलागी सिंगो कांग्रेसको पछाडी लाग्न कार्यकर्ताहरुलाइ आग्रह गर्नुभयो ।

ब्यक्तिगत स्वार्थका लागि पार्टीको अस्तित्व समाप्त गर्न खोज्नेहरुसंग सतर्क हुनुपर्ने भन्दै कार्कीले नेतृत्वले बाटो बिराए कार्यकर्ताले खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो।कांग्रेससंग जनताले गरेको आशा र अपेक्षा पूरा गर्नकै लागिपनि कांग्रेस एकढिक्का हुनुको बिकल्प नरहेको कार्कीको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य रामबहादुर बस्नेत, जिल्ला सदस्य दिप राई र कृष्ण खत्री, नेपाल दलित संघका केन्द्रिय सदस्य धर्म नेपाली लगायतले सम्बोधन गर्दै कांग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी हुने दावी गरेका थिए। सोही कार्यक्रममा थिर बहादुर नेपालीको नेतृत्वमा २ दर्जन भन्दा बढी विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न।

उनीहरूलाई प्रमुख अथिति कार्की लगायतका नेताले स्वागत गरेका छ्न।कार्यक्रम वडा सभापति दिपक राईको सभापतित्वमा सम्पन्न भएको जिल्ला सदस्य कृष्ण खत्रीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्