अब कांग्रेस सरकार विरुद्ध सडकमा
पुष्पराज गिरी
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भोली सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने तयारी गरेको छ । सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रने पटक पटकको घोषणा अनुरुप कांग्रेस सडक प्रदर्शनमा उत्रन लागेको हो । सडक आन्दोनलका लागि भ्रष्टाचार कुशासन र कोरोना भाइरस संक्रमणको मुद्दाहरुलाई कारण बनाउने रणनीति बनाए पनि पछिल् लो पटक नेता रामचन्द्र पौडेलमाथिको हमला पछि आक्रोस पोख्दै कांग्रेसले सडकमै नगई नछाड्ने उद्घोष गरेको थियो ।

सोही अनुसार सोमबारदेखि कांग्रेसले सरकार विरुद्ध देशभर प्रदर्शन गर्दैछ । यसकालागि सवै तयारी पुरा भइसकेका पनि कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको गत शुक्रबार बसेको पदाधिकारी बैठकले सरकार विरुद्ध देशव्यापी प्रदर्शनको घोषणा गरेको थियो । सडकसँगै सदनबाट पनि सरकारमाथि दबाब बनाउने नीति कांग्रेसले लिएको छ । त्यसका लागि संसद बैठक अबिलम्ब बोलाउने सरकार र सभामुख समक्ष माग गरको छ । वर्तमान सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड १९ को अव्यवस्थापनको पर्यायवाची बनेको आरोप कांग्रेसका नेताहरुले लगाएका छन् ।
कम्युनिष्ट सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका विरुद्ध संघर्ष गर्नु परेको कांग्रेसले ठहर गरेको छ । सरकार विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले उदासिनता र अकर्मण्यता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकन भ्रष्टाचार काण्ड र बेथितिलाई कांग्रेसले विरोध प्रदर्शनको एजेण्डा बनाएको छ ।
सोमबार हुने देशव्यापी प्रदर्शनलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू आइतबारदेखि नै सम्बन्धित जिल्ला प्रस्थन गरिरहेका छन् । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई केन्द्रबाटै खटाइएको हो भने केन्द्रीय सदस्यहरू जिल्ला सभापतिको आमन्त्रणमा जान लागेको बुझिएको छ । पार्टीको केन्द्रीय रणनीति अनुसार नै केन्द्रीय नेताहरुले सोमबार हुने आन्दोलन र प्रदर्शनलाई सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।
जसअनुसार सभापति शेरबहादुर देउवा मकवानपुर र वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्दैछन् । आन्दोलनका लागि आइतबार नै उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा.शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री डा.प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह धनुषा र कृष्णप्रसाद सिटौला महोत्तरी, पूर्वसहमहामन्त्री डा.रामशरण महत चितवन र अर्जुननरसिंह केसी कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र सहमहामन्त्री सुनीलबहादुर थापा धनकुटा प्रस्थान गरेको कांग्रेस स्रोतले जनाएको छ ।
यसैगरी सोमबार धनगढीमा हुने विरोध प्रदर्शनमा कांग्रेस युवा नेता गगन थापा र रामहरि खतिवडाले इलाममा आयोजित विरोध सभालाई सम्बोधन गर्ने भएका छन्। महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयबाट देशभरका कार्यक्रमको समन्वय गर्नेछन् । कोरोना कहरका बीच कांग्रेसले देशव्यापी सडक प्रदर्शन गर्न लागेको हो ।

