अनेरास्ववियु सोलुखुम्बुले तोक्यो आठवटै स्थानीय तहमा कमान्डर



सोलुखुम्बु, २१ मंसिर ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बु जिल्ला कार्यालयको बैठक शनिबार सम्पन्न भएको छ। बैठकले संगठन बिस्तारका लागि जिल्लाका आठवटै स्थानीय तहमा इन्चार्ज,सात स्थानीय तहमा संयोजक र छ वटा स्थानीय तहमा सह संयोजक तोक्ने निर्णय गरेको अनेरास्ववियुका नेता कुमार कटेलले जानकारी दिए।

अनेरास्ववियु सोलुखुम्बुका संयोजक लक्ष्मण खालिङ र सह संयोजक अम्बिरकाजी कुलुङद्वारा जारी बिज्ञप्तिमा जनाइए अनुसार बैठकले जिल्लाको एकमात्र नगरपालिका सोलु दुधकुण्डमा इन्चार्जको जिम्मेवारी जिल्ला सह संयोजक अम्बिरकाजी कुलुङले पाएका छन भने संयोजक र सह-संयोजकको जिम्मेवारी क्रमशः भूपेन्द्र राई र कविता मगरलाइ दिइएको छ।थुलुङ दुधकोशी गाउँपालिकाको इन्चार्जमा तेन्जी शेर्पा र संयोजक सर्वधन राई छन भने सहसंयोजकको जिम्मेवारी विश्वमा विश्वराज तामाङलाई दिइएको छ।

यसैगरी नेचासल्यान गाउँपालिका इन्चार्जको जिम्मेवारी कुमार कटेलले पाएका छन भने संयोजकमा सरोज भट्टराई र सह संयोजकमा चुडामणी बास्तोला रहेको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।

त्यस्तै महाकुलुङ गाउँपालिका इन्चार्जमा दिबस कुलुङ र संयोजक नबिन्द्र कुलुङ छन भने सोताङ गाउँपालिका इन्चार्जमा कविता श्रेष्ठ संयोजकमा श्यामकुमार खालिङ र सह संयोजकमा विजय बिकलाइ तोकिएको छ।

लिखुपिके गाउँपालिका इन्चार्जको जिम्मेवारी जिल्ला इन्चार्ज लक्ष्मण खालिङले लिएका छन भने संयोजकमा राजेन्द्र कार्की र सह संयोजकमा पेम्बा शेर्पा रहेका छन।माप्य दुधकोशी गाउँपालिकामा गौरव राई इन्चार्ज, प्रताप राई संयोजक र सह संयोजक मनिषा राई छन भने खुम्बु पासाङल्हामु गाउँपालिका इन्चार्जको जिम्मेवारी राम तामाङलाइ दिइएको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।

बैठकले सोलुखुम्बु बहुमुखी क्याम्पस प्रशासनद्वारा मनोमानी ढंगले हालै मासिक शुल्क वृद्धि गरिएकोप्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै अभिभावकहरुलाई मार पर्ने गरि एकतर्फी रुपमा गरिएको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिइ विद्यार्थीहरुलाई सहज रुपमा पठनपाठन तथा परीक्षा दिन पाउने वातावरण सिर्जना गर्न माग समेत गरेको सो संगठनद्वारा शनिबार जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्र नै शिथिल भएका बेला समुदायस्तरबाट संचालित सामुदायिक क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई दिँदै आएको शुल्कमा समेत छुट दिनुपर्नेमा उल्टै शुल्क वृद्धि गर्ने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी समेत अनेरास्ववियुले दिएको छ।

प्रतिक्रिया दिनुहोस्