ह्वात्तै बढ्यो देशभर चिसो,हिमाली जिल्लामा भीषण हिमपात

काठमाडौं,२ मंसिर । काठमाडौं उपत्यकासहित देशभर नै मौसम बदली भएसँगै चिसो बढेको छ। सोमबार बिहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा सोमबार न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ।
पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
उपत्यकासहित बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हुम्ला,जुम्ला,जाजरकोट, म्याग्दी र उतरी गोर्खामा भीषण हिमपात भएको जनाइएको छ।

