खुन्दे अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सम्बन्धी एकदिन प्रशिक्षण
लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु , २० कार्तिक ।जिल्लाको खुम्बु पसाङल्हामु गाउँपालिकास्थित खुन्दे अस्पतालले गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि एकदिने प्रशिक्षण सन्चालन गरेको छ।

खुम्बु मन्जो सामुदायिक स्वास्थ्य क्लिनिक,थामे सामुदायिक स्वास्थ्य क्लिनिक र फोर्चेमा रहेको फोर्चे सामुदायिक स्वास्थ्य क्लिनिकका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा खुन्दे अस्पतालका डाक्टर मिङमा कान्छी शेर्पाले सो सम्बन्धि प्रशिक्षण दिएकी थिइन।
सोही कार्यक्रममा डा. शेर्पाले खुन्दे अस्पतालद्वारा संचालित तिनैवटा स्वास्थ्य संस्थालाई कोरोना भाइरसबाट बच्न आवश्यक सामग्री N 95 मास्क, सर्जिकल मास्क, थर्मोमीटर, शरीरको अक्सिजन नाप्ने पल्स अक्सिमिटर र पिपिई सेट उपलब्ध गराएकी थिइन।
उता खुन्दे अस्पतालका मेडिकल अधिकृत डा. कामीतेम्बा शेर्पाले एक सूचना जारी गर्दै अस्पतालले सन्चालन गर्दै आएको प्रशिक्षणबाट कोरोना भाइरस सम्बन्धि जनस्वास्थ्यका मापदण्ड अपनाउन र स्थानीयस्तरमा सचेत हुन सहयोग पुर्याएको भन्दै खुम्बु पासाङल्हामु गाउँपालिकामा समुदायस्तरमै संक्रमण फैलिएकाले शंका लागेमा अस्पताल र अस्पतालद्वारा संचालित स्वास्थ्य संस्थाहरूमा सम्पर्क गरेर आवश्यक सल्लाह लिन आग्रह गरेका छन।


