तेस्रो क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड सम्पन्न,डीबी पराजुलीलाई सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड
काठमाडौं,१० मंसिर । नेपाली मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित तेस्रो क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा गीत–सङ्गीतका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टा तथा कलाकारलाई अवार्ड र सम्मान प्रदान गरिएको छ।

‘मौलिक कला, संस्कृति हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित कार्यक्रममा गीत–सङ्गीत, पत्रकारिता, कला, व्यवसाय तथा समाजसेवाका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको उपस्थिति थियो।
गीतकार, सङ्गीतकार, मोडल तथा म्युजिक भिडियो निर्देशक बिजेन्द्र नौवागेको संयोजनमा सम्पन्न समारोहमा मुक्तिनाथ विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भरतराज ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
अवार्ड समारोहमा मिडियाकर्मी तथा गीतकार डीबी पराजुलीले ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ गीतबाट सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड प्राप्त गरेका छन्। त्यस्तै, ‘कालीगङ्गा’ गीतका लागि दीपक बीसी सर्वोत्कृष्ट साउण्ड रेकर्डिस्ट घोषित भए। ‘रुनुको अर्थ’ गीतका निर्देशकले सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड प्राप्त गरे।
समारोहमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका देवी खवास, सुदीप परियार, अस्मिता रनपाल, संगम मगर, बिरेन्द्र नौभाग्य, जूना सुन्दास, देवेन्द्र सारु मगर, राहुल श्रेष्ठ, उषा गजुरेल, कान्छा सारु मगर, विजय गौतम, गोविन्दबहादुर प्रधान, शान्तिश्री परियार, विष्णु परियार, अमृत आचार्य, एनिस एन्जल राई तथा प्रकाश दर्नाललगायतका स्रष्टा तथा कलाकारलाई अवार्ड प्रदान गरिएको थियो।
अवार्ड वितरणसँगै विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो। वरिष्ठ लोक तथा दोहोरी गायिका बिमा कुमारी दुरा ‘रजत सम्मान’बाट सम्मानित भइन्। वरिष्ठ पत्रकार शंकर रोक्कालाई ‘वर्ष पत्रकार सम्मान’ प्रदान गरिएको थियो। त्यसैगरी रमेश श्रेष्ठलाई ‘दशक सम्मान’, हुम गैरेलाई ‘बहुप्रतिभा सम्मान’, सुवास कुँवरलाई ‘युवा व्यवसायी सम्मान’ र लिला खनाललाई ‘समाजसेवी सम्मान’ प्रदान गरिएको थियो।
यसैगरी बिमला सुनार ‘गायिका सम्मान’, बाल गायिका मन्जली तामाङ ‘बाल गायिका सम्मान’ र सञ्चारकर्मी विनोद नेपाली ‘मिडियाकर्मी सम्मान’बाट सम्मानित भए।
आयोजकका अनुसार अवार्डका लागि प्राप्त प्रतिस्पर्धीहरूको मूल्याङ्कन गर्दा ५० प्रतिशत जनमत (भोटिङ) र ५० प्रतिशत निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइएको थियो। अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक बालकृष्ण बस्नेतको मुख्य निर्णायकत्वमा गठित निर्णायक मण्डलमा गीतकार भीष्मराज फुलारा, सङ्गीतकार मङ्गल बीके, एरेन्जर सुनिल परियार र गीतकार साधना शाह रहेका थिए।
समारोहमा वरिष्ठ कलाकार यादव बैरागी, लोकसम्राट राजु परियार, वरिष्ठ गायक देवीप्रसाद अर्याल, गायक रूपक डोटेल, चलचित्र निर्देशक मिलन आले, कलाकार तथा निर्देशक दिपेन्द्र तिमल्सेना, वरिष्ठ पत्रकार सानु श्रेष्ठ र अधिवक्ता प्रनिल प्रधानलगायतको उपस्थिति थियो।
दिपेन्द्र शाही ठकुरीले सञ्चालन गरेको कार्यक्रम सोसल मिडिया एण्ड लिगल सर्भिस प्रालिले व्यवस्थापन गरेको थियो। ईसेवा भोटिङ पार्टनर रहेको अवार्ड समारोहमा बिरुवा गाउँपालिका, फेदिखोला गाउँपालिका, धुलिखेल नगरपालिका, बिरुवा गाउँपालिका वडा नम्बर ६, त्रिवेणी एचआर सोलुसन प्रालि र लुलु इन्टरनेसनल प्रालिको प्रायोजन रहेको थियो।
अवार्ड वितरणका अतिरिक्त कलाकारहरूले प्रस्तुत गरेका विभिन्न सांगीतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो।
आयोजकले नेपाली मौलिक गीत–सङ्गीतको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न र सङ्गीत क्षेत्रमा क्रियाशील स्रष्टा तथा कलाकारलाई सिर्जनात्मक यात्रामा अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको जनाएको छ।


