तोकिएको समयमा मात्रै ब्यापार ब्यबसाय सञ्चालन गर्न काठमाडौं प्रशासनको आग्रह



काठमाडौं,२ मंसिर । काठमाडौं जिल्लाका सबै क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने तयारी जिल्ला प्रशासन कार्यालयले अघि बढाएको छ। यसका लागि आवश्यक सुरक्षा व्यवस्था र न्यूनतम पूर्वाधार सुनिश्चित गर्ने गरी रणनीतिक तयारी भइरहेको कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत दरबारमार्ग र ठमेलजस्ता क्षेत्रबाहेक जिल्लाका अन्य स्थानका व्यापार, व्यवसाय तथा बजार क्षेत्रलाई पनि चौबिसै घण्टा सञ्चालन गर्ने सम्बन्धमा तयारी भइरहेको जानकारी दिएको हो।

कार्यालयका अनुसार काठमाडौं नेपालको संघीय राजधानी र महत्वपूर्ण क्षेत्र भएकाले जिल्लाभर चौबिसै घण्टा गतिविधि सञ्चालन गर्न भरपर्दो सुरक्षा प्रबन्ध आवश्यक छ। त्यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडक बत्तीको पर्याप्त व्यवस्था मिलाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

चौबिसै घण्टा सञ्चालनलाई व्यवस्थित बनाउन यातायात, व्यापार–व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षासम्बन्धी पक्षलाई समेटेर रणनीतिक तयारी भइरहेको सूचनामा उल्लेख छ।

यस विषयमा स्थानीय तह, विभिन्न विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिसँग समन्वयात्मक बैठक छिट्टै आयोजना गरिने पनि प्रशासनले जनाएको छ। सम्बन्धित सबै पक्षसँगको छलफल र बृहत् तयारीपछि मात्रै काठमाडौंका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने सूचनामा उल्लेख छ।

तर, तत्कालका लागि यसअघि नै चौबिसै घण्टा सञ्चालन गर्न अनुमति दिइएका दरबारमार्ग र ठमेललगायतका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीले भने साविककै समयअनुसार व्यापार–व्यवसाय सञ्चालन गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्