प्रहरी संगठनमाथि सरकारको हस्तक्षेप बढेको एमाले अध्यक्ष ओलीको आरोप



काठमाडौं,२८ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी संगठनमाथि सरकारको हस्तक्षेप बढेको आरोप लगाउँदै संगठनभित्रै विभाजनको अवस्था सिर्जना भएको टिप्पणी गर्नुभएको छ।

शनिबार एमाले वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रहरी संगठन अहिले सरकारको व्यवहारबाट प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार प्रहरीभित्रै कोही सरकारी कारबाहीको निशानामा पर्ने र कोही त्यसलाई मुकदर्शक बनेर हेर्ने अवस्थामा पुगेका छन्।

विगतमा प्रहरी अनावश्यक रूपमा उत्ताउलिएको टिप्पणी गर्दै उहाँले त्यसको परिणाम अहिले संगठनले भोगिरहेको बताउनुभयो। प्रहरीको सेवा, सुविधा र कार्य वातावरण सुधारमा एमाले नेतृत्वले योगदान गरेको भए पनि पछिल्लो समय प्रहरीको व्यवहारले आफूलाई आश्चर्यमा पारेको उहाँको भनाइ थियो।

ओलीले वर्तमान सरकार राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर अघि बढिरहेको आरोप पनि लगाउनुभयो। सरकार गठन भएकै दिन आफूलाई पक्राउ गरिनु र गिरफ्तारीविरुद्ध प्रदर्शनमा उत्रिएका एमाले नेता–कार्यकर्तामाथि बल प्रयोग गरिनुलाई उहाँले राजनीतिक प्रतिशोधको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।

सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी र व्यवसायीसमेत असन्तुष्ट बन्दै गएको दाबी गर्दै ओलीले सम्पत्ति शुद्धीकरण अनुसन्धानका नाममा व्यवसायीलाई त्रसित पार्ने काम भइरहेको आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्