रातिको समयमा काठमाडौं-हेटौँडा सडक खण्डमा सार्वजनिक सवारी सञ्चालनमा रोक



काठमाडौं,२८ कार्तिक । दक्षिणकाली हुँदै जाने काठमाडौं–हेटौँडा सडक खण्डमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीलाई बेलुका ८ बजेसम्म फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्न निर्देशन दिएको छ ।

त्यस्तै, बिहान ५ बजेपछि मात्र बल्खुबाट उक्त रुटमा सवारी सञ्चालन गर्न पाइनेछ । सञ्चालनअघि सवारीको अवस्था जाँच गर्न र रुटमा पर्ने प्रहरी एकाइलाई प्रत्येक सार्वजनिक सवारीको अनिवार्य जाँच गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।

उक्त सडक खण्डमा साँघुरो र घुम्ती सडक, तीव्र गति, चालकको लापरबाही, सवारीको कमजोर यान्त्रिक अवस्था तथा रातिको अँध्यारोका कारण दुर्घटना बढेको प्रशासनले जनाएको छ । यात्रु र चालकको सुरक्षाका लागि समय सीमा तोकिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्