गोली हानेर पक्राउ गरियो डलर देखाएर ठगी तथा लुटपाट गर्ने व्यक्ति



काठमाडौं, मंसिर २०। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर देखाएर सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्दै आएका एक युवक प्रहरीको गोली लागेर घाइते भएका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–३ घर भएका २८ वर्षीय सुजन तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङलाई बिहीबार साँझ करिब ६:४५ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चास्थित सडकखण्डमा फेला पारेपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिन खोजेको थियो।

सो क्रममा तामाङले प्रहरीमाथि नै धारिलो हतियार (चक्कु) प्रहार गर्दा एक जना प्रहरी घाइते भएका थिए। त्यसपछि प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरे पनि उनले आक्रमणको प्रयास जारी राखेपछि प्रहरीले घुँडामुनि लक्षित गरी थप एक राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते भएका तामाङलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।

प्रहरीले तामाङको साथबाट ठगीमा प्रयोग गरिएका सामग्रीसमेत बरामद गरेको छ। बरामद सामग्रीमा ठगीमा प्रयोग हुने मोटरसाइकल तथा नक्कली नम्बर प्लेट, नेपाली रुपैयाँका २० दरका चार बन्डल, अमेरिकी डलरजस्तै आकारमा काटेर तयार पारिएका सेतो कागजका बन्डल, कागजको बन्डलको माथि र तल राखिएका पाँच–पाँच दरका अमेरिकी डलर, एक किलोको नक्कली सुनको ढिक्का र विभिन्न कम्पनीका मोबाइल फोन रहेका छन्।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा तामाङविरुद्ध काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकका विभिन्न स्थानमा यसअघि पनि ठगीसम्बन्धी मुद्दा दर्ता भएको खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्