चोरीका गरगहना र नगदसहित नक्सालबाट दुई जना पक्राउ
काठमाडौं,१९ कार्तिक । काठमाडौंको नक्सालबाट चोरीका गरगहना, नगद तथा अन्य सामानसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१ लालदरबारस्थित तीनतले पक्की घरबाट बहुमूल्य सुनचाँदीका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरीको सूचना प्राप्त भएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलास गर्ने क्रममा कात्तिक १८ गते बिहान १० बजे काठमाडौं महानगरपालिका–१ नक्सालबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नक्साल बस्ने २५ वर्षीय प्रितम गुरुङ र २९ वर्षीया प्रिया गुरुङ रहेका छन्। उनीहरू बस्दै आएको कोठामा खानतलासी गर्दा चोरी भएका सामान फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट जेड पत्थर जडित तथा अन्य विभिन्न डिजाइनका सुनजस्तो देखिने बाला, सिक्री, औँठी, लकेट, ब्रोच र कानमा लगाउने टप बरामद गरिएको छ।
त्यसैगरी विभिन्न कम्पनीका चारवटा घडी, नेपाली नगद ३ लाख ४८ हजार रुपैयाँ, अमेरिकी डलर १ हजार, एउटा साइड ब्याग, एउटा नीलो जिन्स पाइन्ट र एउटा खैरो छिर्बिरे ज्याकेटसमेत बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका गरगहनामध्ये केहीमा जेड तथा अन्य पत्थर जडान गरिएको छ भने केही लकेटबाट पत्थर निकालिएको अवस्थामा भेटिएका छन्।
पक्राउ परेका दुवै जनामाथि चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


