राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ,१८ कार्तिक । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा सेवा सुविधा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको भनी २०५५ वैशाख ८ गते विभागमा झुट्टा प्रमाणपत्र पेस गरेका थिए। सो प्रमाणपत्र जारी गर्ने निकायबाट प्रमाणीकरण गराउँदा उनको नाम र कुल प्राप्ताङ्क त्यहाँको अभिलेखसँग मेल नखाएको आयोगले जनाएको छ।
नक्कली प्रमाणपत्रकै आधारमा उनले २०५६ जेठ १० मा सहायक निरीक्षक, २०६४ असार ३२ मा वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ मा अनुसन्धान अधिकृत हुँदै २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा पाई सेवा–सुविधा उपभोग गरेका थिए ।
नक्कली प्रमाणपत्र पेस गरी ओहदा तथा लाभ लिएको पुष्टि भएपछि भट्टराईविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय माग दाबी गर्दै बुधवार विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।


