अन्ततः प्रहरी महानिरीक्षकबाट हटाइए कार्की, मनोज केसी नयाँ आईजीपी



काठमाडौं,१८ कार्तिक। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अन्ततः पदबाट हटाइएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

सरकार र आईजीपी कार्कीबीच पछिल्लो समय चुलिएको तीव्र अविश्वास, असमझदारी र तिक्तताबीच सरकारले प्रहरी संगठनको नेतृत्व परिवर्तन गरेको हो। कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुरक्षा सल्लाहकारमा सरुवा गरिएको छ।

सरकारसँगको सम्बन्धमा आएको दरार र पछिल्लो समय सार्वजनिक भएका विभिन्न विवादका कारण कार्कीको पद जोखिममा परेको थियो। विशेषगरी सरकारका उच्च तह र प्रहरी नेतृत्वबीच अनुसन्धान प्रक्रिया, पक्राउ तथा संवेदनशील घटनाको व्यवस्थापनलाई लिएर मतभेद बढ्दै गएको बताइएको थियो।

पछिल्लो समय सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरसम्बन्धी अनुसन्धानमा रहेका इनम सापकोटासँग आईजीपी कार्कीको सम्पर्क रहेको विवरण सार्वजनिक भएपछि उनी थप विवादमा तानिएका थिए। त्यस्तै, निर्वाचनमा खटिएका म्यादी प्रहरीका लागि पोसाक खरिदमा अनियमितता भएको आरोपसमेत प्रहरी नेतृत्वमाथि उठेको थियो। उक्त विषयमा संसदीय सार्वजनिक लेखा समितिले समेत छानबिन प्रक्रिया अघि बढाएको थियो।

सरकारले कार्कीलाई हटाउने तयारी गरिरहेको चर्चा सार्वजनिक भएपछि उनले प्रहरी प्रधान कार्यालयमा उच्च प्रहरी अधिकारीहरूको आकस्मिक बैठक बोलाएका थिए। उक्त बैठकमा संगठनको व्यावसायिकता, प्रतिष्ठा र छविमाथि आँच पुर्‍याउने गतिविधिको प्रतिवाद गर्ने विषयमा छलफल भएको थियो।

त्यतिबेला कार्कीले आफूले राजीनामा दिनुपर्ने अवस्था नरहेको र सरकारबाट राजीनामा माग नगरिएको बताएका थिए। तर, सरकार र प्रहरी नेतृत्वबीचको दूरी घट्नुको सट्टा झन् बढ्दै गएपछि अन्ततः मन्त्रिपरिषद्ले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

नवनियुक्त आईजीपी मनोज केसी यसअघि प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारीमा थिए। उनी २०५४ साल चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका अधिकारी हुन्। उनी प्रहरी महानिरीक्षकका लागि यसअघि पनि प्रतिस्पर्धामा रहेका वरिष्ठ प्रहरी अधिकारीमध्ये एक हुन्।

यसअघि २०८२ कात्तिक २४ गते तत्कालीन सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। करिब एक वर्षपछि नै उनी प्रहरी संगठनको सर्वोच्च नेतृत्वबाट बाहिरिएका छन्।

सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ। नयाँ आईजीपी केसीसामु प्रहरी संगठनको संस्थागत सुदृढीकरण, व्यावसायिकता कायम राख्ने, शान्तिसुरक्षाको प्रभावकारिता बढाउने र संगठनप्रतिको जनविश्वास कायम राख्ने चुनौती रहनेछ।

प्रतिक्रिया दिनुहोस्