ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राउ



काठमाडौं,१६, कात्तिक। सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जीपी (e-Government Procurement) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका अनुसार ठेक्काका आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको विषयमा प्राप्त निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उनीहरूको संलग्नता खुलेको हो।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साइबर ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई कात्तिक १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।

साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्