पद्मावती र सुनन्दाका गीतले गुञ्जियो राष्ट्रिय नाचघर
काठमाडौं,१५ कात्तिक । वरिष्ठ गायिका तथा गीतकार पद्मावती सिंह र गायिका सुनन्दा माथेमाका सिर्जना र साङ्गीतिक प्रस्तुतिले काठमाडौंको राष्ट्रिय नाचघर गुञ्जायमान बनेको छ। साहित्यिक पत्रकार संघद्वारा शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘पद्मावती–सुनन्दा साङ्गीतिक साँझ’मा दुवै गायिकाका गीत तथा म्युजिक भिडियो प्रस्तुत गरिएका थिए।

वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गर्नुभएको थियो। प्रमुख अतिथि खरेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष लेकालीले स्वागत मन्तव्य व्यक्त गर्दै साङ्गीतिक साँझको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले नेपाली गीतसङ्गीतको क्षेत्रमा पद्मावती सिंह र सुनन्दा माथेमाले पुर्याउनुभएको योगदानको चर्चा गर्दै दुवै स्रष्टाको सिर्जनात्मक यात्रालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
साङ्गीतिक साँझमा पद्मावती सिंहका ‘म मौन रहिरहें’, ‘चुपचाप निस्तब्ध रात’, ‘रङ्गीन साँझको याम’ र ‘कल्पन्छ सधैँ’ लगायतका म्युजिक भिडियो प्रदर्शन गरिएका थिए। सिंहले ‘साँझको याम थियो’ र ‘धेरै दिनपछि’ बोलका गीत प्रत्यक्ष प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी सुनन्दा माथेमाका ‘यो मनको फूल फुलेन’, ‘तिमीबाहेक यो मनले कोही खोज्दैन’, ‘मेरो बिहान फुल्यो तिम्रो हेराइमा’ र नेपाल भाषाको ‘बाँला मयजु’ लगायतका म्युजिक भिडियो प्रस्तुत गरिएका थिए। माथेमाले ‘साउने झरी’ र नेपाल भाषाको ‘समा यायेत’ गीत प्रत्यक्ष गाउनुभएको थियो।
दुवै गायिकाका सिर्जना, म्युजिक भिडियो र प्रत्यक्ष गायनले कार्यक्रममा छुट्टै रौनक थपेको थियो। नेपाली भाषाका साथै नेपाल भाषाका गीतसमेत प्रस्तुत हुँदा कार्यक्रमले सांस्कृतिक विविधताको सुन्दर पक्षलाई समेत उजागर गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले नेपाली गीतसङ्गीतमा पारिवारिक सांगीतिक परम्पराको निरन्तरताको चर्चा गर्नुभयो। पद्मावती सिंह र सुनन्दा माथेमा दुवैको परिवारका अग्रज पुस्ताले समेत सङ्गीत क्षेत्रमा योगदान पुर्याएको उल्लेख गर्दै अहिलेका पुस्ताले पनि त्यसलाई निरन्तरता दिनु सुखद पक्ष भएको उहाँको भनाइ थियो। प्रस्तुत गीत तथा म्युजिक भिडियोले आफूलाई प्रभावित पारेको पनि उहाँले बताउनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ सङ्गीतकार, गायक, कलाकार एवं पूर्व उपकुलपति सङ्गीतरत्न शम्भुजित बास्कोटा र वरिष्ठ साहित्यकार उषा शेरचनले शुभकामना मन्तव्य व्यक्त गर्दै दुवै गायिकाका प्रस्तुति र म्युजिक भिडियोको प्रशंसा गर्नुभयो। उहाँहरूले गीत तथा भिडियोको प्रस्तुति उत्कृष्ट र आकर्षक रहेको बताउनुभयो।
सो अवसरमा साहित्यिक पत्रकार संघले गायिका पद्मावती सिंह र सुनन्दा माथेमालाई माला तथा कदरपत्र प्रदान गरी सम्मान गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि यादव खरेल, विशिष्ट अतिथिद्वय उषा शेरचन र शम्भुजित बास्कोटा, प्राज्ञ उन्नति बोहरा ‘शीला’, जलेश्वरी श्रेष्ठ, सरला श्रेष्ठ, सङ्गीतकारहरू राजु सिंह, मनराजा नकर्मी र हरि सायमि, कलाकारहरू हरिश कल्पित र अनु श्रेष्ठ, भिडियो निर्माता कृष्णदेव रुपाखेती तथा साहित्यकारहरू मञ्जिला अनिल, दक्षता भण्डारी र दिव्यता भण्डारीलाई मायाको चिनो प्रदान गरिएको थियो।
प्रतिकूल मौसमका बाबजुद कार्यक्रममा साहित्यकार, सङ्गीतकार, कलाकार तथा गीतसङ्गीत क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, प्राडा. ज्ञानु पाण्डे, प्राडा. गोविन्दमान सिंह कार्की, साहित्यकारहरू भागीरथी श्रेष्ठ, शीला पन्त, मथुरा श्रेष्ठ, सावित्री श्रेष्ठ, विजयध्वज थापा, गीता कार्की, लक्ष्मी उप्रेती, रमेश दहाल, शान्ति रिसाल, कमला रिसाल, वीणा सिंह, इन्दिरा ढकाल, निरा श्रेष्ठ, एन्जेल निलु र डिसु माथेमालगायतको उपस्थिति थियो।
साहित्यकार मञ्जिला अनिलले सहजीकरण गर्नुभएको कार्यक्रमले नेपाली गीतसङ्गीतमा योगदान पुर्याएका स्रष्टाको सिर्जना र योगदानलाई स्मरण तथा सम्मान गर्ने अवसर प्रदान गरेको थियो।


