बाराको फेटा गाउँपालिकामा भएको झडप र गोली चलेको बिषय छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन



जनकपुरधाम, १५ कात्तिक । अस्पताल उदघाटनको विषयमा भएको झडप र गोली चलेको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

शनिबार बाराको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा झडप भएको थियो । झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् ।

समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्ज पर्साका प्रहरी निरीक्षक जटाशंकर यादव रहेका छन् । समितिले जतिसक्दो चाँडो छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रदर्शनकारीको ढुंगामुढा लागेर पाँच जना प्रहरी समेत घाइते भएका थिए । प्रदर्शनकारीले १० वटा मोटरसाइकल जलाएका थिए भने नवनिर्मित अस्पतालको शिलालेख समेत तोडफोड गरेका छन् ।

नेकपा एमालेले पहिलेदेखि नै कार्यक्रम रोक्न चेतावनी दिएको थियो । विवेकशील साझा पार्टीबाट सो पालिका प्रमुख जितेका छन् ।

पार्टी एकता भएपछि रास्वपाको नेतृत्व भएको सो पालिकाको नवनिर्मित अस्पताल उदघाटनका लागि रास्वपाकी प्रतिनिधिसभा सदस्य समीक्षा बाँस्कोटा पुगेकी थिइन् ।

उक्त कार्यक्रम नरोक्दा एमालेले बिथोल्ने क्रममा झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्