साउदी अरबमा रहेका नेपालीलाई सतर्क रहन नेपाली राजदूतावासको आग्रह
काठमाडौं,१० कार्तिक । साउदी अरबको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई सतर्क रहन र आधिकारिक सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।

राजदूतावासले जारी गरेको अनुरोधमा उच्च सतर्कता अपनाउन, विशेषगरी सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन र साउदी अरबका आधिकारिक निकायबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न आग्रह गरिएको छ।
त्यस्तै,आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, जानकारी, फोटो तथा भिडियो अरूलाई नपठाउन र सामाजिक सञ्जालमा साझा नगर्न दूतावासले अनुरोध गरेको छ।
साउदी अरबबाट नेपाल वा अन्य कुनै देशको हवाई यात्रा गर्नुअघि आफ्नो उडानको निर्धारित तालिकामा परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र यात्रा गर्न पनि दूतावासले भनेको छ।
आवश्यक परे रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।


