गोलबजारका तत्कालीन मेयर सहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं,१० मंसिर । सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेलीसहित ७ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नगरपालिकाको पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको ठेक्का तथा राजस्व संकलनमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरूद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा हाटबजार सञ्चालन बापतको राजस्व संकलनमा अनियमितता भएको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

उनका अनुसार उक्त प्रकरणमा तत्कालीन नगर प्रमुख तेली, उपप्रमुख रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखाका तत्कालीन प्रमुख दिनेशकुमार सहनी र हाटबजारका ठेकेदार वीरेन्द्रकुमार यादवविरूद्ध मुद्दा दायर गरिएको हो।

आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिका वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालन बापत राजस्व संकलन गर्न ठेकेदार यादवलाई जिम्मा दिइएको थियो।

नगरपालिकाको २०७८ साउन ४ गतेको कार्यपालिका बैठकले आर्थिक ऐन र प्रचलित कानुनी व्यवस्था विपरीत २७ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय गरेको अख्तियारको आरोप छ।

स्थानीय तहमा कर छुट दिनुपर्ने बाध्यात्मक अवस्था भए नगर सभाबाट मात्रै त्यस्तो निर्णय गर्न सकिने व्यवस्था रहे पनि कार्यपालिकाले नै छुट दिएको देखिने अख्तियारको प्रवक्ता न्यौपानेले जानकारी दिए।

त्यसैगरी, २०७८ साउन १४ गतेको कार्यपालिका बैठकले पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको राजस्व संकलन गर्ने जिम्मा प्रतिस्पर्धाबिनै सोझै ठेकेदार यादवलाई अमानतमा दिने निर्णय गरेको देखिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा छुट दिइएको २७ लाख ३४ हजार ९१३ रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा असुल नगरेको एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा जोड्दा कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ भएको अख्तियारको निष्कर्ष छ।

तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र राजस्व शाखाका तत्कालीन प्रमुख सहनीविरूद्ध जनही एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ बिगो माग दाबी गरेको छ।

तत्कालीन नगरप्रमुख तेलीविरूद्ध भने पदमा बहाल रहँदा भ्रष्टाचारसम्बन्धी कसुर गरेको आरोपमा भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम अख्तियारले थप सजाय माग गरेको छ।

त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतोविरूद्ध जनही एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपर गर्न मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्