सिंहदेवीलाई पहिलोपटक पहिर्याइयो गहना,फुलपाती पनि भित्र्याईयो
खगिन्द्र राज बास्तोला,नेचासल्यान,१ असोज । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३, पात्लेस्थित श्री सिंहदेवी मन्दिरमा यस वर्ष पनि परम्पराअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ। फूलपातीको अवसरमा मन्दिरमा विशेष पूजाआजा तथा धार्मिक कार्यक्रम आयोजना गरिएको हो।

वि.सं. २०६५ सालदेखि नवरात्रको अवसर पारेर मन्दिरमा देवी भागवत महापुराण लगाउने परम्परा सुरु भएको हो। सोही अवसरमा नेचासल्यान–३, भदौरेस्थित बेलको फेदबाट नवपत्रिका तयार पारी पञ्चेबाजा र पञ्चकलशसहित धार्मिक विधिपूर्वक फूलपाती मन्दिर परिसरमा भित्र्याउने गरिन्छ।
वि.सं. २०६७ सालदेखि ‘सिंहदेवी सेवा समाज’ नामकरण गरी संस्थागत रूपमा धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुँदै आएका छन्। समाजले नवरात्रको अवसरमा देवी भागवत महापुराण आयोजना गर्दै आएको छ भने दुई वर्षअघिदेखि १८ पुराणसमेत लगाउन थालिएको छ। त्यस्तै, ठूली एकादशीका दिन फूल तार्ने, हरिकीर्तन गर्नेलगायतका धार्मिक कार्य पनि समाजले गर्दै आएको छ।
यसैबीच,यस वर्षको महाअष्टमीका दिन सिंहदेवी मन्दिरमा पहिलोपटक देवी महोत्सवअन्तर्गत देवीलाई गहना पहिराउने कार्यको सुरुवात गरिएको छ। सिंहदेवी सेवा समाजका सचिव होमप्रसाद कटेलको घरबाट बाजागाजासहित गहना ल्याई धार्मिक विधिअनुसार सिंहदेवी मातालाई पहिराइएको हो। उक्त अवसरमा मन्दिरमा दर्शनार्थी तथा भक्तजनको उल्लेख्य भीड लागेको थियो।
समाजका अध्यक्ष कृष्णप्रसाद कटेलका अनुसार देवीलाई पहिराउन आवश्यक गहनाको व्यवस्था संस्थाका मानार्थ सदस्य पण्डित टंकप्रसाद ढुंगाना तथा सल्लाहकार सदस्यहरू खगिन्द्रराज बास्तोला, अविकेशर कटेल,समिता बास्तोलाले गरेका हुन्।
यस वर्ष घटस्थापनादेखि सुरु गरिएको देवी भागवत महापुराण विजया दशमीका दिन देवी विसर्जन तथा टीका ग्रहणसँगै समापन हुने समाजले जनाएको छ।
स्थानीय धार्मिक मान्यताअनुसार वि.सं. १९१३ सालमा ऋषि जैसीले स्वप्न दर्शन पाएपछि सिंहदेवीको उत्पत्ति भएको विश्वास गरिन्छ। उक्त मन्दिरमा वि.सं. २०३९ सालदेखि चण्डी पाठ गराउन थालिएको थियो भने वि.सं. २०६५ सालदेखि निरन्तर देवी भागवत महापुराण आयोजना हुँदै आएको छ।
मन्दिरको धार्मिक महत्त्वलाई थप उजागर गर्दै यसको व्यवस्थापन र संस्थागत विकासलाई अघि बढाउने प्रतिबद्धता समाजका अध्यक्ष कटेलले व्यक्त गरेका छन्। धार्मिक परम्पराको निरन्तरता, सामूहिक सहभागिता र सांस्कृतिक संरक्षणका दृष्टिले सिंहदेवी मन्दिरमा हुँदै आएका गतिविधिले स्थानीय समुदायलाई जोड्ने काम गर्दै आएका छन्।


