६ जिल्लाका तटीय क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणको आग्रह
काठमाडौं,२५ असोज । बूढीगण्डकीमा भीषण बाढी आएपछि ६ वटा जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै बूढीगण्डकीमा बाढीपछि आरूघाट स्टेसनमा जलसतह खतराको तह भन्दा धेरै बढी भएको र तल्लो तटीय क्षेत्रसम्म सतर्क रहन अनुरोध गरेको हो।
प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबलाई सतर्क हुन अनुरोध गरेको छ।
आरूघाटमा बिहान पौने १० बजे बूढीगण्डकीको जलसतह ८.४३ मिटर पुगेको छ। यसको सतर्कता तह ४.५ मिटर र खतराको तह ५ मिटर तोकिएको छ।
बूढीगण्डकी नदी सिउरेनीटारमा त्रिशूली नदीमा मिसिन्छ।त्यसकारण त्रिशूलीदेखि नारायणी नदी तटीय क्षेत्रसम्म सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।


