टेकुको लक्ष्मीश्वर मन्दिर परिसरमा ‘मातृभाषा कवि गोष्ठी’ सम्पन्न



काठमाडौँ, १७ असोज । नेपालको भाषिक,जातीय तथा सांस्कृतिक विविधतालाई कवितामार्फत उजागर गर्ने उद्देश्यले काठमाडौँको टेकुस्थित ऐतिहासिक लक्ष्मीश्वर मन्दिर परिसरमा ‘मातृभाषा कवि गोष्ठी २०८३’ सम्पन्न भएको छ। वर्तमान कविता समूहको आयोजना तथा रातो घर फाउन्डेसन र नेपाल लोकबाजा सङ्ग्रहालयको सह–आयोजनामा भएको कार्यक्रममा नौभन्दा बढी मातृभाषामा कविता वाचन गरिएको छ।

पचली भैरव क्षेत्रनजिकै रहेको मन्दिर परिसरमा विभिन्न भाषा, लवज, संस्कृति र जीवनानुभूतिका कविता गुञ्जिँदा कार्यक्रम नेपालको बहुभाषिक पहिचानको साझा उत्सव बनेको थियो।कार्यक्रमको सुरुआतमा वर्तमान कविता समूहका संस्थापक सदस्य तथा कवि विश्व सिग्देलले स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले मातृभाषा सञ्चारको माध्यम मात्र नभई समुदायको मौलिक ज्ञान,सभ्यता,स्मृति र अस्तित्वको आधार भएको बताउनुभयो। “विभिन्न मातृभाषाको संरक्षण, प्रवर्द्धन र ती भाषामा सिर्जित साहित्यलाई राष्ट्रिय मूलधारमा ल्याउन यस्ता बहुभाषिक साहित्यिक गोष्ठीले सेतुको काम गर्छन्,” उहाँले भन्नुभयो। नेपालमा बोलिने प्रत्येक मातृभाषाले आफ्नै इतिहास, संस्कृति र जीवनदृष्टि बोकेको उल्लेख गर्दै उहाँले भाषिक विविधतालाई विभाजनको आधार नभई सहअस्तित्व र राष्ट्रिय एकताको शक्तिका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। गोष्ठीमा नेपाल भाषा,खस भाषा, तामाङ, अवधी, नेपाली, केवरत, मैथिली तथा संस्कृतलगायत भाषामा मौलिक कविता प्रस्तुत गरिएको थियो।

कार्यक्रममा वरिष्ठदेखि नयाँ पुस्तासम्मका ३८ जना कविले आ–आफ्ना मातृभाषामा कविता वाचन गरेका थिए। कविता वाचन गर्नेहरूमा राम विनय, जगत वाशिष्ठ,कुसु क्षेत्री,रहेना नकःर्मी मानन्धर, वैरागी जेठा, वसन्त नकःर्मी, सजना गोले, डा. अनिता श्रेष्ठ, शिव आचार्य, सुनिल पुरी, हंसा कुर्मी, रजनीमिला, लुमन्ती चित्रकार, ओम श्रेष्ठ, हेमन्ती केवरत, कृष्ण बाउसे, बालकृष्ण श्रेष्ठ, सुवास मिश्र, राधेश्याम महर्जन,चतुर्भुज केवरत, नरोत्तम श्रेष्ठ, लक्ष्मी माली, धीर कुमार श्रेष्ठ, रमी प्रिया, ईश्वर थोकर, अमर कुमार प्रधान, सावित्री श्रेष्ठ, रामप्रसाद कँडेल र नवराज रायमाझीलगायत रहनुभएको थियो।

फरक–फरक भाषामा प्रस्तुत कविताले प्रेम,प्रकृति,संस्कृति,सामाजिक यथार्थ,मानवीय संवेदना र पहिचानका विविध पक्षलाई अभिव्यक्त गरेका थिए। एउटै मञ्चमा अनेक मातृभाषाका कविता प्रस्तुत हुनुले नेपाली साहित्यको बहुभाषिक स्वरूपलाई थप सशक्त बनाएको सहभागीहरूको धारणा थियो।

कार्यक्रमको सञ्चालन वर्तमान कविता समूहका संस्थापक सदस्य तथा कवि चन्द्रबहादुर लामाले गर्नुभएको थियो। उहाँले कविता केवल शब्द र सौन्दर्यको अभिव्यक्ति नभई कुनै समुदायको भूगोल, इतिहास, संस्कृति र पहिचानको सजीव दस्तावेजसमेत भएको धारणा राख्दै कार्यक्रमलाई सहज र आत्मीय ढङ्गले अघि बढाउनुभयो। टेकुको ऐतिहासिक तथा सांस्कृतिक परिवेशमा आयोजना गरिएको गोष्ठीले साहित्यलाई मन्दिर, संग्रहालय, संस्कृति र समुदायको जीवनसँग जोड्ने प्रयाससमेत गरेको थियो। कार्यक्रमको समापनमा रातो घर फाउन्डेसनका तर्फबाट कवि स्नेह सायमीले धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले फरक भाषा, भूगोल र संस्कृतिका स्रष्टालाई एउटै थलोमा ल्याउने यस्ता कार्यक्रमले मातृभाषा साहित्यको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।आयोजकका अनुसार आगामी दिनमा पनि मातृभाषा, संस्कृति, पर्यावरण, मानवता, पहिचान तथा समसामयिक सामाजिक विषयलाई केन्द्रमा राखेर साहित्यिक गतिविधिलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया दिनुहोस्