विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन सांसदहरुलाई प्रधानमन्त्री शाहको आग्रह



काठमाडौं,१४ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता,ज्ञान,सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयमा मात्रै केन्द्रित नभई दीर्घकालीन नीति, नयाँ सोच र विकासका उपायमा ध्यान दिन आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईंहरू आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”

उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

प्रधानमन्त्री शाहले सांसदहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै उनीहरूले नयाँ सोच र उपाय ल्याएर त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो।

नयाँ विचार र समाधानका उपायमा केन्द्रित भएर काम गर्न सके छोटो अवधिमै मुलुकको विकासलाई गति दिन सकिने धारणा उहाँले राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्